उत्तराखण्डको धराली बाढीपहिरोमा नेपालीको मृत्यु भएकाे छैन : भारतीय प्रहरी


काठमाडाैं- भारतको उत्तराखण्ड प्रहरीले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई उत्तरकाशी जिल्लाको धरालीमा गएको भीषण बाढीपहिरोमा ज्यान गुमाउने वा उद्धारमा परेका मध्ये कुनै पनि नेपाली नागरिक नरहेको जानकारी गराएको छ।

उत्तराखण्ड प्रहरीले हालसम्म ३७२ जनालाई सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव बरामद भएको बताउँदै, तिनीहरू मध्ये कोही पनि नेपाली नभएको दूतावासलाई सूचित गरेको हो।

तर, दूतावासलाई प्राप्त जानकारीअनुसार, उत्तराखण्ड प्रदेशको पौडी गढवाल जिल्लाको बागोडामा गत ६ अगष्टमा गएको अर्को बाढीपहिरोमा परी पाँच नेपाली नागरिक हराइरहेका छन्। साथै, घाइते भएका चार जना नेपालीमध्ये उपचारपछि तीन जना घर फर्किसकेका छन् भने एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

नेपाली दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा बाढीपहिरोपछि नेपालीहरूको अवस्था, हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार र आवश्यक सहयोगका लागि उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू तथा भारत सरकारको विदेश मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको उल्लेख गरेको छ।

यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दूतावासलाई हराइरहेका नेपालीहरूको खोजी तथा उद्धारका लागि भारतसँग तदारुकतापूर्वक समन्वय गर्न निर्देशन दिएकी थिइन्।

उक्त बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका बासिन्दा समेत प्रभावित भएका छन्। गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार वडा नं. २ का कम्तीमा १३ जना र अन्य वडाका केही व्यक्तिहरू सम्पर्कविहीन छन्। उनले नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई प्रभावित क्षेत्रमा हराइरहेका नेपालीहरूको तत्काल खोजी तथा उद्धारका लागि कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।

 

प्रतिक्रिया