भारतकाे उत्तरकाशीमा विनाशकारी बाढी: धराली गाउँमा चारजनाको मृत्यु, दर्जनौँ बेपत्ता


काठमाडाैं- भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जिल्लाको धराली गाउँमा विनाशकारी प्राकृतिक प्रकोप घटेको छ। मंगलबार खीरगंगा क्षेत्रमा एक्कासी भीषण वर्षासँगै आएको बाढीले व्यापक जनधनको क्षति पुर्‍याएको हो।

धराली बजार पुरै तहसनहस भएको छ भने स्थानीय बासिन्दाको जनजीवन अस्तव्यस्त बनेको छ। खीरगंगाबाट आएको बाढी र लेदाेले होटल, पसलहरू बगाएको छ। अहिले पनि धेरै मानिस मलबामा पुरिएको आशंका गरिएको छ।

उत्तरकाशीका जिल्ला अधिकारी प्रशान्त आर्यका अनुसार हालसम्म चार जनाको मृत्यु भइसकेको पुष्टि भएको छ। दर्जनौं मानिसहरू हराइरहेका छन्। राहत र उद्धार कार्यका लागि एनडीआरएफ, एसडीआरएफ, सेना र प्रहरीको टोली खटिएको छ।

बाढीपछि आएको लेदाेले धरालीको अधिकांश संरचना ध्वस्त बनाएको छ। बजार क्षेत्रका होटल र पसलहरू पूरै बगाइएका छन्। खीरगंगाको पानी र लेदाेले सबै बगाएको स्थानीयले बताएका छन्। घटना लगत्तै धरालीमा सन्त्रास फैलिएको थियो।

प्रकोपको खबर सार्वजनिक भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत पीडितप्रति समवेदना जनाउँदै उत्तराखण्ड सरकार र उद्धार टोलीहरू राहत कार्यमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

मुख्यमन्त्री पुष्कर सिंह धामीले राहत र उद्धार कार्य तीव्र रूपमा भइरहेको जनाएका छन्। उनले भने, “एसडीआरएफ, एनडीआरएफ, जिल्ला प्रशासन र अन्य सम्बन्धित टोलीहरू युद्धस्तरमा खटिएका छन्। म आफैं वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छु।”

उक्त घटनालाई लिएर उत्तराखण्ड विपद व्यवस्थापन विभागले भारत सरकारसँग दुई एमआई र एक चिनूक हेलिकप्टर मागेको छ। अहिले पनि बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ।

 

प्रतिक्रिया