
कुलिङ पिरियड प्रावधानमा भएको गडबडीबारे छानबिन प्रतिवेदनमा के छ ?
काठमाडौं- संघीय निजामती सेवा विधेयकअन्तर्गत ‘कुलिङ पिरियड’ प्रावधानमा भएको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक भएको छ।
मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा समितिका सभापति जीवन परियारले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएपछि सो प्रतिवेदन सार्वजनिक गरिएको हो।
प्रतिवेदनमा ‘कुलिङ अफ पिरियड’ प्रावधानमा नियतवश छेडछाड गरिएको ठहर गरिएको छ। यसमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई नैतिक रूपमा जिम्मेवार ठहर गरिएको छ।
प्रतिवेदन बुझाउँदै सभापति परियारले प्रतिवेदन निर्माणका क्रममा सरोकारवालासँग विस्तृत छलफल गरिएको जानकारी दिए। उनले यस्ता त्रुटि भविष्यमा नदोहोरियोस् भन्ने हेतुले आवश्यक सुझावहरू पनि प्रतिवेदनमा समावेश गरिएको बताए।
त्यसैगरी, सभामुख देवराज घिमिरेले समितिलाई दिएको कार्यभार सफलतापूर्वक पूरा गरेकोमा धन्यवाद दिँदै प्रतिवेदनमा उठाइएका विषय कार्यान्वयन गर्न प्रतिबद्ध रहेको धारणा व्यक्त गरे।
प्रतिनिधिसभाले गठन गरेको उक्त छानबिन समितिमा नेपाली कांग्रेसका जीवन परियार (सभापति), सुशीला थिङ, नेकपा एमालेका ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य, माओवादी केन्द्रका माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीका रोशन कार्की सदस्य थिए।
Skip to PDF content


कागजपत्र |
