भक्तपुरको रिसोर्टमा जुवातास खेल्दाखेल्दै चार जना पक्राउ


भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका–७, खरिपाटीस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले सोमबार दिउँसो बाँसबारी रिसोर्टमा छापा मारेर मध्यपुर थिमी नगरपालिका–५ बस्ने ३७ वर्षीय बाबुराजा प्रजापतीसहित चार जनालाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट नगद १ लाख ५ हजार ९ सय ४० रुपैयाँ बरामद गरिएको छ। साथै, जुवा खेलाउन प्रयोग गरिएको मोबाइल आकारको विशेष डिजिटल उपकरण १ थान र त्यसमा प्रयोग हुने १२ बुक डिजिटल तास पनि प्रहरीले बरामद गरेको छ।

त्यस्तै, उनीहरूले प्रयोग गरिरहेका ६ थान मोबाइल, १ थान मोटरसाइकल र १ थान स्कुटरसमेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया