
बबई नदीमा जलसतहले खतराको तह नाघ्यो
काठमाडौं- लगातारको वर्षाका कारण बबई नदीमा जलसतह खतराको तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल बबई नदीमा पानीको सतह ७.१ मिटर पुगेको छ, जुन ६.८ मिटरको खतराको तहभन्दा माथि हो।
विभागका अनुसार बबई नदीमा चेतावनीको तह ५.५ मिटर र खतराको तह ६.८ मिटर तोकिएको छ। त्यसलाई पार गरेपछि विशेषगरी बर्दिया र दाङ जिल्लामा बाढीको उच्च जोखिम रहेकाले उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।
बाढीविद् विनोद पराजुलीका अनुसार बबईसँगै महाकाली नदीमा पनि पानीको सतह खतराको तह नजिक पुगेको छ। उनले जिल्ला प्रशासन, स्थानीय तह तथा सर्वसाधारणलाई पूर्वसूचना पठाएर सतर्क रहन अपील गरिएको जानकारी दिए।
विभागको पूर्वानुमानअनुसार आज काभ्रेपलाञ्चोक, मकवानपुर, दाङ, बाँके, चितवन, कैलाली, कञ्चनपुर र आसपासका जिल्लामा बहने स–साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको छ।
बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीहरू सतर्कता तह आसपास छन् भने कोशी, नारायणी, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरू सतर्कता तहभन्दा तल छन्।
त्यस्तै, सङ्खुवासभा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, उदयपुर, सर्लाही, रौतहट, बारा, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, रुपन्देही, नवलपरासी (पूर्व/पश्चिम), कपिलवस्तु, म्याग्दी, प्यूठान, अर्घाखाँची, जाजरकोट, डोल्पा, रुकुम पश्चिम, दैलेख, कालीकोट, सुर्खेत, अछाम, बझाङ, डडेल्धुरा, डोटी, बैतडी, दार्चुला लगायतका जिल्लामा बहने साना नदीहरूमा जलसतह बढ्ने सम्भावना रहेको छ।
साथै इलाम, झापा, ताप्लेजुङ, तेह्रथुम, पाँचथर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, मोरङ, सुनसरी, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, धादिङ, नुवाकोट, रसुवा, स्याङ्जा, तनहुँ, पर्वत, गुल्मी, जुम्ला, मुगु, हुम्ला, बाजुरा लगायत जिल्लाहरूमा मध्यम जोखिमसहित आकस्मिक बाढीको पूर्वानुमान गरिएको विभागले जनाएको छ।



कागजपत्र |
