
राजनीतिमा रञ्जिताको ‘ट्विस्ट’, श्रीमानकै पार्टीमा पनि रहिनन् साधारण सदस्य
काठमाडौं — रेशम चौधरीको जेलयात्रासहित सुरु भएको रञ्जिता श्रेष्ठको राजनीतिक यात्रामा ‘ट्विस्ट’ आएको छ । जेलभित्रबाटै स्वतन्त्र उम्मेदवारी दिएपछि सांसद बनेका चौधरीको संरक्षकत्वमा नागरिक उन्मुक्ति पार्टी दर्ता भई अध्यक्ष बनेकी रञ्जीताले अन्ततः साधारण सदस्यको समेत हैसियत गुमाएकी छिन् ।
पार्टीभित्र आन्तरिक विवाद चर्कँदै गएपछि पार्टीका संरक्षक एवं रञ्जीताकै श्रीमान् रेशम पक्षको राष्ट्रिय भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।
अध्यक्षलाई हटाएसँगै पार्टीको नयाँ अध्यक्ष चयनबारे राष्ट्रिय भेलामा छलफल अगाडि बढाइएको नागरिक उन्मुक्तिका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले बताए। ‘अध्यक्षलाई पार्टीको साधारण सदस्यबाट हटाउने प्रस्ताव राष्ट्रिय भेलाले पारित गरेको छ,’ पार्टीको अनुशासन आयोगका अध्यक्षसमेत रहेका उनले भने, ‘राष्ट्रिय भेला जारी छ, भेलामा नयाँ अध्यक्ष चयन गर्ने विषयमा छलफल हुन्छ।’
पार्टीका संस्थापक २१ जना केन्द्रीय सदस्यमध्ये बहुमत सदस्यले केन्द्रीय समिति बैठक बोलाउन आग्रह गर्दा पनि बेवास्ता गरेको, अनुशासन आयोगलाई स्पष्टीकरणको जवाफ नबुझाएको, पार्टीको विधान नमानेको कारण देखाएर भेलाले अध्यक्षलाई हटाउने निर्णय गरेको हो। त्यस्तै, आफूखुसी कार्यवाहक अध्यक्ष तोकेको र भ्रष्टाचार काण्डमा मुछिएका कारण उनलाई हटाउने निर्णय गरिएको डगौराले जानकारी दिए।
यसअघि मंगलबार पार्टीको केन्द्रीय अनुशासन आयोगले अध्यक्ष श्रेष्ठलाई कारबाही गर्ने निर्णय गरेको थियो। नागरिक उन्मुक्तिका बहुमत संस्थापक केन्द्रीय सदस्यको गत आइतबार बसेको बैठकले बहुमत सदस्यको मागअनुसार केन्द्रीय समिति बैठक नबोलाएको भन्दै अध्यक्ष श्रेष्ठलाई २४ घण्टाभित्र जवाफ पेस गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। उक्त निर्णयअनुसार स्पष्टीकरण माग गरे पनि अध्यक्ष श्रेष्ठले स्पष्टीकरण नबुझाएको अनुशासन समितिका अध्यक्ष डगौराले बताए।
‘अध्यक्ष घुस लिएको अडियो प्रकरणमा मुछिनुभयो, यसबारे सामाजिक सञ्जालमा आलोचनाहरू भए, तर उहाँले यसबारे पार्टी कमिटीमा जवाफ दिनुभएन,’ डगौराले भने, ‘बहुमत केन्द्रीय सदस्यले बैठक बोलाउन अल्टिमेटमसहित आग्रह गर्दा पनि उहाँले बेवास्ता गर्नुभयो ।’ गत शुक्रबार बहुमत सदस्यले २४ घण्टाभित्र केन्द्रीय समिति बैठक बोलाउन अध्यक्षलाई अल्टिमेटम दिएका थिए।
राष्ट्रिय भेलामा नागरिक उन्मुक्तिका २१ जना संस्थापक केन्द्रीय सदस्यमध्ये १२ जनाको उपस्थिति रहेको थियो। संस्थापक केन्द्रीय सदस्य लक्ष्मणकिशोर चौधरी निर्णयमा सहमत भए पनि बिरामी रहेकाले भेलामा उपस्थित हुन नसकेको डगौराले बताए। राष्ट्रिय भेलाका संयोजक रामलाल डगौराको अध्यक्षतामा भएको भेलामा पार्टीका संरक्षक रेशमलाल चौधरी प्रमुख अतिथि थिए।



कागजपत्र |
