८.८ रेक्टरको भूकम्प जाँदा पनि डाक्टरले रोकेनन् शल्यक्रिया [भिडिओ]


काठमाडौं- रूसको पूर्वी क्षेत्रमा पर्ने कमचटका प्रायद्वीप नजिकै बुधबार बिहान ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। तटीय क्षेत्रभन्दा १२५ किलोमिटर दक्षिण–पूर्वतर्फ केन्द्रित यो भूकम्पको कम्पनले भवनहरू रूखझैँ हल्लाइदिएको थियो। भूकम्प सतहबाट १९.३ किलोमिटर गहिराइमा उत्पन्न भएको थियो, जसका कारण जमिनमा व्यापक झट्का महसुस गरिनुका साथै समुद्रमा सुनामी पनि उत्पन्न भयो।

यति भीषण भूकम्पका झट्काले त्रास फैलिएको बेला पनि कमचटकाे एक अस्पतालका डाक्टरहरूले अपवादजनक धैर्य देखाउँदै शल्यक्रिया रोक्ने निर्णय गरेनन्। अपरेशन थिएटरमा एक बिरामीको सर्जरी भइरहेका बेला नै जमिन हल्लिन थाल्यो। भवन काँपिरहेको थियो, तर चिकित्सकहरूको टोलीले सम्पूर्ण साहस संकलन गर्दै बिरामीको ज्यान बचाउने जिम्मेवारी छाडेन।

सीसीटीभीमा कैद भएको भिडियो फुटेज अनुसार, भूकम्प सुरु भएसँगै एक डाक्टरले बिरामीलाई थामिरहेका छन्, अर्कोले अपरेशन बेड समातिरहेका छन्। कुनै पनि चिकित्सक डराएर बाहिर भागेका छैनन्। एकजना सर्जन त सर्जरीमै ध्यान केन्द्रित गरिरहेका छन्। स्वास्थ्य मन्त्रालयले पछि जानकारी दिएको छ कि ती बिरामीको शल्यक्रिया सफल भएको छ र उनी पूर्णरूपमा सुरक्षित छन्।

भूकम्पपछि कमचटका तटीय क्षेत्रमा ठूलो सुनामी उत्पन्न भएको छ। समुद्रको छालहरू बस्तीमा पस्दा घर, गाडी र संरचनामा क्षति पुगेको छ। जापान र अमेरिका समेत तीव्र छालहरूबाट प्रभावित भएका छन्। प्रभावित क्षेत्रका नागरिकहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

यस घटनाले डाक्टरहरूको सेवा भावना, धैर्य र मानवीय समर्पणको अद्भुत उदाहरण प्रस्तुत गरेको छ। आपतकालीन क्षणमा पनि आफ्नो पेशागत धर्म निर्वाह गर्न तयार यो टोलीको कार्य सम्पूर्ण विश्वका लागि प्रेरणाको स्रोत बनेको छ।

 

प्रतिक्रिया