प्रधानमन्त्रीद्वारा रानीजमरा सिँचाइ तथा जलविद्युत् आयोजना उद्घाटन


कैलाली- प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनामध्ये पर्ने रानीजमरा कुलरिया सिँचाइ तथा जलविद्युत् परियोजनाको उद्घाटन गरेका छन्।

मंगलबार कैलाली पुगेर प्रधानमन्त्री ओलीले आयोजनाको कर्णाली नदीस्थित मुहान स्थल अवलोकन गरेपछि जानकी गाउँपालिका–९, कटासेमा निर्माण गरिएको ४.७१ मेगावाट क्षमताको जलविद्युत् गृहको उद्घाटन गरे।

आर्थिक वर्ष २०६७/६८ मा सुरु गरिएको आयोजनाको पहिलो चरण २०७४/७५ मा र दोस्रो चरण २०८०/८१ मा सम्पन्न भएको हो। आयोजनाको सम्पन्नतासँगै १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगीसकेको छ भने उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

आयोजनाको अद्यावधिक गुरुयोजना अनुसार २०८२ साल मसान्तसम्ममा कुल २९ अर्ब ५९ करोड ७७ लाख रुपैयाँ लागत अनुमान गरिएको छ। हालसम्म २० अर्ब ५८ करोड ५६ लाख रुपैयाँ बराबरको काम सम्पन्न भइसकेको र आयोजनाले ७५ प्रतिशत भौतिक प्रगति हासिल गरिसकेको जानकारी दिएको छ।

नेपाल सरकारले ११ अर्ब २३ करोड ३३ लाख र विश्व बैंकले ९ अर्ब ३५ करोड २३ लाख रुपैयाँ लगानी गरेको यस आयोजनाले लम्की शाखातर्फ १४.६५ किलोमिटर मूल नहर निर्माण गरिसकेको छ। शाखा तथा उपशाखा नहर निर्माणपछि थप ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने र कुल सिञ्चित क्षेत्र २० हजार ३ सय हेक्टर हुने आयोजनाले जनाएको छ।

करीब १२० वर्षअघि स्थानीय किसानहरूले सुरू गरेको परम्परागत सिँचाइ प्रणालीलाई आधुनिकरण गर्दै निर्माण गरिएको यो आयोजना कैलाली जिल्लाको कृषि विकास र ऊर्जा आपूर्तिमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया