
मुखबाट सास दिएर नवजात शिशुको ज्यान जोगाउने अनमी
बैतडी- दुर्गम सिगास गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्र कन्धारमा कार्यरत अनमी (सहायक नर्स मिडवाइफ) जानकी पूजाराले एक नवजात शिशुको ज्यान बचाएकी छन्। साउन ८ गते राति साढे ९ बजे स्थानीय लक्ष्मी धामीले शिशुलाई जन्म दिएकी थिइन्। तर जन्मिएलगत्तै शिशुले सास फेर्न सकेन।
अनमी पूजाराका अनुसार नवजात शिशु निस्सासिएको अवस्थामा जन्मिएको थियो। रातिको समय, दुर्गम स्थान र आवश्यक स्वास्थ्य उपकरणहरूको अभावका कारण अन्यत्र लैजान सम्भव नभएपछि उनले आफैंले मुखमार्फत कृत्रिम सास दिँदै शिशुको ज्यान जोगाइन्।
“राति ९ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेसम्म लगातार मुखबाट सास दिएर शिशुको ज्यान बचाएँ,” उनले भनिन्, “त्यो बेलामा स्वास्थ्य केन्द्रमा एउटै एम्बु बेग थियो, त्यो पनि साइज नमिलेको। त्यसैले बाध्य भएर मुखै प्रयोग गरें।”
उनका अनुसार नवजात शिशुलाई जोगाउन अक्सिजन, सक्सन मेसिनजस्ता उपकरणहरू आवश्यक पर्थे, तर आधारभूत स्वास्थ्य केन्द्रमा ती कुनै पनि साधन उपलब्ध थिएनन्। यस्तो अवस्थामा पनि निरन्तर प्रयास गर्दै उनले शिशुको ज्यान जोगाइन्।
हाल आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी पूजाराले जानकारी दिइन्। सुत्केरी भेटघाटका लागि आफू आइतबार लक्ष्मी धामीको घर पुगेको बताउँदै उनले भनिन्, “अहिले आमा र बच्चा दुवै सामान्य छन्। म आफैं पनि निकै खुसी छु।”
उनले नवजात शिशुलाई बचाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनको चौतर्फी प्रशंसा भएको छ। यसबारे बोल्दै उनले भनिन्, “मैले स्वास्थ्यकर्मीको नाताले आफ्नो कर्तव्य पूरा गरेकी हुँ। नवजात शिशुको ज्यान जोगाउन पाउँदा धेरै खुसी लागेको छ।”
उनले दुर्गम क्षेत्रका स्वास्थ्य संस्थाहरूमा आधारभूत उपकरणको चरम अभाव रहेकोप्रति चिन्ता व्यक्त गरिन्। “स्वास्थ्य संस्थामा आवश्यक उपकरणहरू भएमा काम गर्न धेरै सहज हुन्थ्यो,” उनले भनिन्, “भिडियो सार्वजनिक भएपछि धेरै ठाउँबाट फोन आएका छन्। तर म चाहन्छु कि यस्ता केन्द्रहरूमा अक्सिजन, सक्सन मेसिन जस्ता उपकरणको कम्तीमा न्यूनतम व्यवस्था होस्।”



कागजपत्र |
