
न्यूयोर्कमा गोली चल्दा प्रहरीसहित चारजनाको मृत्यु, १ जना घाइते
अमेरिका – अमेरिकाको न्यूयोर्कमा भएको गोलीकाण्डमा चारजनाको मृत्यु भएको छ। न्यूयोर्कका मेयरले घटनामा पाँचजनालाई गोली लागेको र तीमध्ये चारजनाको मृत्यु भएको बताएका छन्।
मेयर एरिक एडम्सले मृत्यु हुनेमा न्यूयोर्कका एक प्रहरी अधिकारी पनि रहेको बताएका छन्। सीबीएसको रिपोर्ट अनुसार ड्युटीमा नभएका तर, भवनमा सुरक्षाकर्मीको रूपमा काम गरिरहेका दुई न्यूयोर्क प्रहरी अधिकारीहरूलाई पनि गोली लागेको छ।
सुरक्षाकर्मीबाहेक अन्य दुईजना सर्वसाधारणलाई पनि गोली लागेको छ। यीमध्ये एकजना अधिकारीको मृत्यु भएको छ भने एकजना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ।
न्यूयोर्क प्रहरी स्रोतका अनुसार शेन डी तामुरा नामका व्यक्तिले गोली चलाएको खुल्न आएको छ। प्रहरीले भने आधिकारिक रूपमा यसको पुष्टि गरेको छैन। सीबीएस न्यूजले बन्दुकधारीको तस्बिर सीसीटीभी क्यामेरामा कैद भएको जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
