लोपोन्मुख समुदायका १६ जनाकाे रहस्यमयी अन्तर्धान: गाउँले त्रसित, प्रहरी हैरान !


सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु समुदायका एकै परिवारका १६ जना रहस्यमय तरिकाले बेपत्ता भएका छन्। घटनाले गाउँमा सनसनी फैलिएको छ भने प्रहरीसहित स्थानीय जनप्रतिनिधिहरूको टोलीले खोजी कार्य तीव्र पारेको छ।

स्थानीय उर्मिला हायुसहित उनका परिवारका १६ जना सदस्य गायब भएको पुष्टि सोमबार बिहान भएको हो। तर वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरू सम्भवतः बिहीबार राति वा शुक्रबार बिहानदेखि नै सम्पर्कविहीन थिए।

रित्तो घर, रोइरहेको कुकुर र आगोले जलेको भान्सा

सोमबार बिहान ९:३० बजे परिवार हराएको खबर पाउनेबित्तिकै वडाध्यक्ष श्रेष्ठ, प्रहरी टोली र स्थानीय छिमेकीहरू हायुको घरमा पुगेका थिए। त्यहाँको दृश्य निकै गम्भीर र रहस्यमय थियो। कुकुर झ्यालमा बसेर लगातार रोइरहेको थियो। बाख्रा, कुखुरा र भैंसीहरू खुला बारीमा अलपत्र अवस्थामा थिए।

घरसँगै जोडिएको भान्साघरमा आगो लागेर हल्का क्षति भएको पाइयो। “भान्सामा आगो लागेको देखियो, कुखुरा-बाख्रा खुला बारीमा थिए, कुकुर झ्यालमै बसेर रोइरहेको थियो,” वडाध्यक्ष श्रेष्ठले बताए। उनका अनुसार घर हेर्दा तीन दिनअघिबाट कोही पनि घरमा नरहेको अनुमान गर्न सकिन्छ।

बंगुर काटिएको, मासु गन्हाइसकेको अवस्थामा

श्रेष्ठका अनुसार घरमा तीन दिनअघि बंगुर काटिएको प्रमाण भेटिएको छ। मासु कुहिन थालेको थियो। “भैंसी करिब ४५ मिनेट टाढा डाँडामा गोठमा बाँधिएको रहेछ। त्यसलाई घाँस-पानी गर्न कोही पनि नआएपछि छिमेकीले स्याहार गरेका रहेछन्” उनले भने।

मोबाइल अफ, ऋणको दबाब वा योजना ?

श्रेष्ठले बताए अनुसार परिवारका सदस्यका सबै मोबाइल फोन अफ छन्। घटना झनै रहस्यमय भएको उनले बताए। केही गाउँलेले ऋणको कारण तनावमा थिए भन्ने बताएका छन् भने कतिपयले भत्ता लिएर फर्केपछि कुनै आपराधिक घटना भएको हुन सक्ने शंका गरेका छन्।

हायु समुदाय लोपोन्मुख जनजातिमा सूचीकृत भएकाले उनीहरू सामाजिक सुरक्षा भत्ता बुझ्न केही दिनअघि वडामा आएका थिए। त्यही क्रममा उनले सबै सदस्यले भत्ता बुझेको पनि श्रेष्ठले जानकारी दिए।

अहिले के भइरहेको छ  ?

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार प्रहरी टोलीले खोजी अभियान तीव्र बनाएको छ। “खोल्सा, खहरे र बारीका पाटा–पार्टी सबै ठाउँ खोजिरहेका छौँ। तर अहिलेसम्म कुनै पत्तो लागेको छैन,” उनले भने।

श्रेष्ठले पनि स्थानीयवासी, जनप्रतिनिधि र प्रहरीको संयुक्त टोली खोजीमा खटिएको जानकारी दिए। “यो घटना रहस्यमय छ, तर हामी सम्भव सबै ठाउँ खोज्दैछौँ,” उनले भने।

प्रतिक्रिया