अविरल वर्षाले ८ राजमार्ग पूर्ण रूपमा अवरुद्ध


काठमाडौं- मुलुकभर जारी अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरो जाँदा देशका आठ मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको लगातारको वर्षाले सडक अवरुद्ध बनाएको हो।

अवरोध भएका राजमार्गहरूमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा पर्ने कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा पर्ने अरनिको राजमार्ग, र नुवाकोटको शिवपुरी गाउँपालिकास्थित मध्यपहाडी राजमार्ग समावेश छन्।

त्यस्तै, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा पर्ने जाजरकोट–डोल्पा भेरी करिडोर सडक, हुम्लाको सिमकोट गाउँपालिकामा पर्ने कर्णाली करिडोर, र जाजरकोटको छेडगाड नगरपालिकास्थित मध्यपहाडी राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।

यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङ नगरपालिकामा पर्ने कालिगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी मात्र सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

highway-1753680219.jpg

प्रतिक्रिया