
कुकुरलाई सङ्गिनी सुई !
काठमाडौँ – महिलाले लगाउने गर्भनिरोधक सङ्गिनी सुई कुकुरलाई लगाइने गरेको पाइएको छ । पशु अधिकारको दृष्टिकोणले यो कार्य अपराध हुने भए पनि आफ्नो सजिलोका लागि अन्धाधुन्ध प्रयोग बढिरहेको छ । औषधी पसलमा सहजै पाइने र सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन नसक्दा यसको प्रयोग बढेको हो, जसको कारणले कुकुरमा पाठेघर र क्यान्सरसम्बन्धी जटिल समस्या देखिन थालेको पशु स्वास्थ्यकर्मीले उल्लेख गरेका छन् ।
काठमाडौँ उपत्यकामा प्रत्येक १० घरमध्ये एक घरमा कुकुर पालिएको तथ्याङ्क छ । अज्ञानता र पशु प्राविधिकको गलत सल्लाहले महिलाले प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन तीनमहिने सङ्गिनी सुई काठमाडौँ उपत्यकासँगै देशका प्रमुख सहरका कुकुर (पोथी कुकुर) लाई लगाउने गरेको केन्द्रीय रेफरल पशु चिकित्सालयका डा. प्रकाश अधिकारीले बताएको समाचार गोरखापत्रले प्रकाशित गरेको छ ।
उनले अस्पतालमा दैनिक उपचारका लागि ल्याइने कुकुरमध्ये धेरैमा पाठेघरको समस्या देखिएको र त्यो सङ्गिनी सुईको असर भएको दाबी गर्नुभयो । पहिला पहिला कुकुरको पाठेघरमा समस्या एकदमै कम देखिने भए पनि पछिल्लो समय सङ्गिनी सुईको दुरुपयोगले समस्या बढेको जिकिर गरे । सङ्गिनी सुई कुकुरधनी स्वयंले लगाउन अनुरोध गर्ने गरेको र औषधी पसलमा सहजै उपलब्ध हुने भएकाले यसको दुरुपयोग बढ्दो रहेको उनले बताए ।
सङ्गिनी सुई नितान्त महिलाका लागि बनाइएको हुनाले कुकुरमा प्रयोग गर्नु दुरुपयोग हो । कुकुरमा यो सुईको प्रयोगले डिम्बाशयमा मासु (सिस्ट) पलाउने र पाठेघर सङ्क्रमण (पायोमेट्रा) को जोखिम बढाउँछ । साथै कुकुरले खाना पनि कम खान थाल्छ । पेट फुल्ने, रक्तअल्पता हुने, योनीबाट गन्हाउने फोहोर पदार्थ फाल्ने जस्ता लक्षण पनि कुकुरमा देखा पर्छन् ।
पशु चिकित्सक एवं नेपाल भेटेरिनरी परिषद्का उपाध्यक्ष डा. मनोज शाहीले यो समस्या सहरदेखि गाउँसम्म फैलिएको दाबी गरे तर सहरमा भने यसले ठुलै समस्या ल्याएको उहाँले उल्लेख गरे । कुकुर पाल्ने व्यक्तिहरूले औषधी पसल र कुकुरका लागि खोलिएका क्लिनिकमा गएर वा घरमै बोलाएर कुकुरलाई सङ्गिनी सुई लगाउने गरेको पाइएको छ ।
धेरै मानिसले लहैलहैमा लागेर कुकुरलाई सङ्गिनी सुईको प्रयोग गरिरहेको उनले बताए । “यसले कुकुरलाई मृत्युको मुखमा पु¥याउँछ । सङ्गिनी सुई कुकुरमा लगाउन मिल्दैन । यो नितान्त महिलाका लागि मात्रै बनेको हो,” डा. शाहीले भने । केही पैसाका लागि घर घरमा गएर कुकुरलाई सङ्गिनी सुईको प्रयोग गर्ने कार्य तत्काल रोक्नु पर्छ । नत्र पाठेघरको रोग लागेर कुकुर मर्ने उनले स्पष्ट पारे । लगातार दुई/तीन पटक सङ्गिनी सुई लगाएको खण्डमा ९० प्रतिशत कुकुरको पाठेघरमा समस्या देखिन थाल्छ ।



पत्रपत्रिका |
