
विना अनुमति जथाभाबी वाई–फाई हटस्पट सञ्चालन गर्नेलाई कारबाही गर्ने चेतावनी
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले विनियमावलीविपरीत जथाभाबी रूपमा वाई–फाई हटस्पट सञ्चालन गर्ने इन्टरनेट सेवा प्रदायकहरूलाई कारबाही गर्ने भएको छ।
आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले वाई–फाई हटस्पट सेवा ‘वाई–फाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ को प्रावधान उल्लंघन गर्दै सञ्चालन गरिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको हो।
प्राधिकरणका अनुसार, आधारभूत दूरसञ्चार सेवा, मोबाइल टेलिफोन सेवा वा आधारभूत टेलिफोन सेवाको अनुमति प्राप्त प्रदायकहरूले मात्र वाई–फाईमार्फत सिमलेस कनेक्टिभिटी, रोमिङ तथा मोबिलिटी सेवा दिन पाउने व्यवस्था छ। यसबाहेक अन्यले यस्तो सेवा सञ्चालन गर्नु गैरकानुनी मानिनेछ।
वाई–फाई हटस्पट सेवा सञ्चालन गर्दा रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिद्वारा तोकिएको रेडियो फ्रिक्वेन्सी सम्बन्धी नीति, २०८० अनुसारका शर्तहरू, जसमा पावर लिमिट, ब्याकहल/ब्याकबोन प्रतिबन्ध लगायतका विषय समेटिएको छ अनिवार्य रूपमा पालना गर्न प्राधिकरणले निर्देशन दिएको छ।
त्यस्तै, वाई–फाई सेवा सञ्चालनमा प्रयोग गरिने रेडियो उपकरणहरू प्राधिकरणबाट टाइप–एप्रुभल प्राप्त भएको हुनुपर्ने र अनुमोदनबिना प्रयोग नगरिने पनि स्पष्ट पारिएको छ।



कागजपत्र |
