रेसलिङ्ग सुपरस्टार हल्क होगनको हृदयघातबाट निधन


काठमाडाैं- विश्वप्रसिद्ध प्रोफेशनल रेसलर हल्क होगनको हृदयघातका कारण निधन भएको छ। वर्ल्ड रेसलिङ इन्टरटेन्मेन्ट डब्लूडब्लूई) ले एक विज्ञप्ति जारी गर्दै ७१ वर्षको उमेरमा उनको निधन भएको पुष्टि गरेको हो।

वास्तविक नाम टेरी बोलिया रहेका होगनले सन् १९७७ मा रेसलिङ करियर सुरु गरेका थिए। सन् १९८० र ९० को दशकमा उनी प्रो रेसलिङ इतिहासकै सबैभन्दा प्रभावशाली तथा लोकप्रिय व्यक्तित्वको रूपमा स्थापित भए।

सन् १९७९ मा वर्ल्ड रेसलिङ फेडेरेसन (हालको डब्लूडब्लूई) मा आबद्ध भएसँगै उनी ‘हल्क होगन’ नामले विश्वभर चिनिए। उनी ५० वर्षको उमेरसम्म रिङमा सक्रिय रहँदा टेलिभिजन र चलचित्र क्षेत्रमा समेत आफ्नो उपस्थिति जमाएका थिए।

होगनले आफ्नो करियरमा ६ पटक डब्लूडब्लूई वर्ल्ड हेवीवेट च्याम्पियनसिप जितेका थिए। उनले रेसलमेनियाजस्ता ठूला प्रतियोगितामा समेत भाग लिए। अभिनयको क्षेत्रमा पनि उनको योगदान उल्लेखनीय रह्यो।

डब्लूडब्लूईको ‘होल अफ फेम’ मा समावेश गरिएका होगनलाई संस्थाले ‘रेसलिङ इतिहासकै महान सुपरस्टारमध्ये एक’ भन्दै श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिक्रिया