

कालोबजारी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

काठमाडौँ – संसदीय समितिले बजारमा कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न सरकार मातहतका निकायलाई निर्देशन दिएको छ ।
राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिको शुक्रबारको बैठकले कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधि व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिएको हो ।
समितिले चारवटै विभागका महानिर्देशकहरुलाई बैठकमा बोलाई उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धमा छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।
यस्तै दर्ता भए पनि नभए पनि कर नतिर्ने तथा महँगो र चर्को मूल्यमा सामान बेच्नेलाई कडा कानुनी दायराभित्र ल्याई दण्ड र जरिमानासहित कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ ।

