रहिनन् किसुनजीको चिया अड्डाकी ‘लक्ष्मी दिदी’


काठमाडौं — बानेश्वर चोकबाट अनामनगर जाने सडकको तेस्रो घरमा रहेको लक्ष्मी थापा मगरको ‘लक्ष्मी दिदी’को पसल पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) प्रत्येक शनिबार चिया खाने र कार्यकर्ता भेट्ने ‘अड्डा’ नै थियो ।

किसनुजीलाई प्रत्येक साता चिया खुवाउने र पछिल्ला दिनमा खसीको मासु चिउराका लागि प्रख्यात रहेको लक्ष्मी दिदीको पसलकी सञ्चालिका एवं लक्ष्मी दिदीको निधन भएको छ । बानेश्वरको पहिचान नै बनेकी लक्ष्मी दिदीको पसलमा विशेष गरी खसी र माछाका परिकारहरु पाइने गर्दछन् ।

झिँगटीको छानो भएको सानो घरमा रहेको पसलमा किसुनजीसँगै धेरै नेता तथा कार्यकर्ता पुग्थे । कांग्रेसका शीर्ष नेताकै चिया अड्डा भएपछि लक्ष्मीको चिया पसल राजनीतिक विवेचना र विमर्शको चौतारी हुन्थ्यो ।

पञ्चायतको प्रतिबन्धितकालमा कांग्रेस नेता तथा कार्यकर्ता लक्ष्मी दिदीको चिया पसलमा भेट्ने भनेपछि अरू ठेगानको जरुरत पर्दैन थियो ।

७९ वर्षीय लक्ष्मी दिदीले यी सबै स्मृतिलाई सँगालेर बुधबार नर्भिक अस्पतालमा निधन भएको हो ।

उनका एक छोरा र दुई छोरी छन् । श्रीमानकाे यसअघि नै मृत्यु भइसकेको थियो ।  थापामगरको पार्थिव शरीरलाई बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

 

प्रतिक्रिया