पूर्वप्रेमीकासँग बदला लिन एआई प्रयोग: युवतीलाई पोर्नस्टार बनाएर भाइरल गरेपछि…


असम, भारत – असमका एक युवाले आफ्नी पूर्वप्रेमीकाबाट पाएको अपमानको बदला लिन कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर उनलाई इन्टरनेटमा ‘पोर्नस्टार’को रूपमा स्थापित गरिदिएका छन्। ‘बेबीडल आर्ची’ नामक डिजिटल पहिचान बनाएर युवतीका एआई जेनेरेटेड तस्बिर र भिडियोहरू सामाजिक सञ्जाल र पोर्न वेबसाइटहरूमा अपलोड गरिएको थियो।

यो डरलाग्दो प्रकरणका पछि प्रीतम बोरा नामका युवक थिए, जो हाल दिल्लीमा मेकानिकल इन्जिनियरको रूपमा कार्यरत छन्। उनले आफ्नी प्रेमिकाले बारम्बार अपमान गरेको भन्दै बदला स्वरूप उक्त कार्य गरेका हुन्।

एआईबाट निर्मित अश्लील सामाग्रीमार्फत बदला र नाफा दुवै
बोराले युवतीका पुराना तस्बिरहरू प्रयोग गरी एआई सहायता लिई हजारौं तस्बिर र भिडियो बनाएका थिए। उनले सन् २०२० मा ‘बेबीडल आर्ची’ नामको फेक खाता खोलेका थिए, जुन जुलाई १४, २०२५ सम्म आइपुग्दा १३ लाखभन्दा बढी फलोअर्स सहितको लोकप्रिय खाता बनिसकेको थियो।

प्रोफाइल यति विश्वसनीय देखिन्थ्यो कि मानिसहरूले उनलाई अमेरिकी पोर्नस्टार केन्ड्रा लस्टसँग देखिएका तस्बिरहरू पनि साँचो ठाने। ती सबै तस्बिरहरू एआईद्वारा निर्मित भए पनि सामाजिक सञ्जाल प्रयोगकर्तामात्र होइन, मिडिया समेत झुक्कियो।

बोराले बनाएको फेक प्रोफाइलमा आर्चीको जीवनकथा पनि जोडिएको थियो। उनलाई दिल्लीको जीबी रोडबाट २५ लाख रुपैयाँ तिरेर छुटाएको, वेश्यावृत्तिको नरकबाट उम्किएको बताइएको थियो। यससँगै दिल्ली र मुम्बईका लोकेशन ट्याग भएका फोटाहरू प्रयोग गरिएको थियो जसले डिजिटल उपस्थिति अझ विश्वसनीय बनायो।

युवतीले वास्तविकतामा आफू कुनै सामाजिक सञ्जालमा सक्रिय नभएको, आफू विवाहित र निजी जीवन बिताइरहेकी बताउँदै प्रहरीमा उजुरी दर्ता गरिन्। अनुसन्धानपछि डिब्रुगढ प्रहरीले प्रीतम बोरालाई पक्राउ गरेको हो।

डिब्रुगढका एसएसपी सिजल अग्रवालले प्रकरणमा एआईको दुरुपयोग भएको पुष्टि गरेकी छन्। उनका अनुसार यो मुद्दामा प्राविधिक अनुसन्धान तीव्र पारिएको छ र विभिन्न एजेन्सीहरूसँग डाटा माग गरिएको छ।

 

 

प्रतिक्रिया