वीरमा घुस लिएर क्यान्टिनको ठेक्का, सतर्कता केन्द्रले २ पटक हटाउन निर्देशन दिए पनि अझै भएन कार्यान्वयन

भ्रष्ट २ कर्मचारीले लाखौं घुस लिई अयोग्य कम्पनीलाई दिए ठेक्का


काठमाडौं– सर्वसाधारणहरुले सबैभन्दा विश्वास गर्ने र मुलुककै ठूलो एवं पुरानो मानिएको वीर अस्पतालमा भ्रष्टाचार र अनियमितताको अर्को नमुना देखिएको छ । उपचारका लागि वीर अस्पताल आउने सर्वसाधारणहरुले प्रयोग गर्ने वीरको चमेना गृह (क्यान्टिन) अवैध तरिकाले ठेक्का दिएको खुलेको छ ।

वीर अस्पतालका केही कर्मचारीहरुले क्यान्टिन सञ्चालनका लागि गरिएको प्रक्रिया अवैध भएको भन्दै विभिन्न निकायमा उजुरी दिएका छन् । उजुरीमा क्यान्टिन सञ्चालनका लागि प्रकाशित सुचनामा उल्लेख भएको मापदण्डविपरित केही भ्रष्ट कर्मचारीहरुले २५ लाख घुस लिएर मापदण्ड नै नपुगेको कम्पनीलाई क्यान्टिनको ठेक्का दिएको आरोप लगाएका छन् ।

उजुरीका अनुसार क्यान्टिन सञ्चालनका लागि २०८१/०७/०९ गते सुचना प्रकाशित गरेकामा गुजेश्वरी होटल प्रालि, जी एन्ड बी क्याफे, सुनिल क्यान्टिन तथा कपडा पसल, शिवांश फूड एन्ड क्यान्टिन, आरएस मल्टीप्रपोज, नारायणी चमेना गृह र ग्रिनवर्ड बेकरी क्याफेले बोलपत्र प्रस्ताव पेश गरेका थिए । ठेक्का मुल्यांकन समितिका  लेखा उपसचिव हिमलाल अधिकारी र लेखा अधिकृत महानराज ओलीले योग्यता नै नपुगेको गुजेश्वरी होटल प्रा.लिसँग २५ लाख रुपैयाँ कमिसन लिई सम्झौता गरि क्यान्टिन सञ्चालन गर्न दिएको जनाइएको छ ।

सूचनाको भाग २ को बुंदा न २ (च) (छ) (ज) मा भएको अनिवार्य रुपमा पेश गर्नु पर्ने कागजात र न्यूनतम योग्यताका आधारहरु पेश नगरेको र नक्कली कागजातहरु पेश गरेको पनि जनाइएको छ । तर अधिकारी र ओलीले मोटो रकम लिई योग्यता नपुगेको गुजेश्वरी होटल लाई सम्झौता गराएको खुलेको छ । साथै पछिल्लो समय क्यान्टिनको खाना गुणस्तरहीन हुनका साथै दररेट पनि अस्वाभाविक महंगो भएको पनि जनाइएको छ ।

त्यसपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरी पटकपटक सो सम्झौता रद्ध गरी दोस्रोसँग सम्झौता गर्न दिएको निर्देशनलाई अधिकारी र ओलीले अहिलेसम्म कार्यान्वयन गराएका छैनन् । उनीहरुले गुजेश्वरी होटल प्रा.लि.सँग सम्झौता रद्ध नगरेपछि केन्द्रले पुनः जेठ २८ गते दोस्रोपटक निर्देशन दिए पनि क्यान्टिन नहटाएपछि कर्मचारीहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री  कार्यालय, राष्ट्रिय सर्तकता केन्द्र, स्वास्थ्य सचिव र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दिएका छन् ।

 

प्रतिक्रिया