
काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट सार्वजनिक
काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले नगर सभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा आर्थिक वर्ष २०८२/०८३ का लागि कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित वार्षिक बजेट प्रस्तुत गरेकी छन्।
उपमेयर डंगोलका अनुसार संचित कोषमा २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुनेछ। यसअघि आर्थिक वर्ष २०८१/०८२ का लागि महानगरपालिकाले २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो।
‘आन्तरिक आम्दानी र बैंक मौज्दातबाट २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएको छ,’ उनले भनिन्, ‘नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त, समानीकरण र राजस्व बाँडफाँडमार्फत ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँ प्राप्त हुने निश्चित छ।’
प्रस्तावित बजेटअनुसार, कुल बजेटको ५१ प्रतिशत अर्थात १२ अर्ब ८० करोड ८३ लाख १४ हजार पूर्वाधार विकासमा खर्च गरिनेछ। सामाजिक विकासका लागि २० प्रतिशत (५ अर्ब २ करोड २८ लाख ६८ हजार), सुशासन र अन्तरसम्बन्ध क्षेत्रतर्फ १२ प्रतिशत (३ अर्ब १ करोड ३७ लाख २१ हजार) र प्रशासनिक तथा कार्यालय सञ्चालनतर्फ १४ प्रतिशत (३ अर्ब ५१ करोड ६० लाख ८ हजार) बजेट विनियोजन गरिएको छ। आर्थिक विकास क्षेत्रमा भने ३ प्रतिशत (७५ करोड ३४ लाख ३० हजार) बजेट छुट्याइएको छ।
डंगोलले आगामी वर्षमा पूर्वाधार योजनालाई उच्च प्राथमिकता दिइएको उल्लेख गर्दै फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा सुधार, शहरी स्वास्थ्य सेवा विस्तार, ‘एक वडा एक उद्यम’ कार्यक्रममार्फत रोजगारी र आयवृद्धि, सार्वजनिक यातायातको व्यवस्थापन, ध्वनि प्रदूषण न्यूनीकरण तथा सम्पदाको संरक्षणजस्ता कार्यहरूलाई बजेटमा विशेष प्राथमिकतामा राखिएको जानकारी दिइन्।
उनले बजेट प्रस्तुत गर्दा स्थानीय सरकार सञ्चालन ऐनअनुसारको समयसीमाभन्दा केही ढिलो भएको उल्लेख गर्दै विगतमा उत्पन्न केही मनमुटावका कारण यस्तो भएको स्वीकार गरिन्।



कागजपत्र |
