पक्की घर थियो, तर छाउगोठमै सुतेका कारण मृत्युवरण गरिन् कमलाले

घरमा थिएनन् श्रीमान् र सासु-ससुरा


काठमाडाैं-  महिनावारी भएका बेला छाउगोठमा बसिरहेकी एक महिलाको सर्पको डसाइबाट मृत्यु भएपछि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले नगरभरिका सबै छाउगोठ १५ दिनभित्र भत्काउन आदेश दिएको छ।

कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी दमाई शुक्रबार राति सुतिरहेको बेला सर्पको डसाइमा परिन्। उनलाई तत्काल सेती प्रादेशिक अस्पताल, धनगढी लगिए पनि उपचारको क्रममा शनिबार साँझ मृत्यु भयो।

कमला आउजी भारतको सुरतमा श्रीमानसँगै मजदुरी गर्थिन्। यही वैशाखमा उनी तीन छोराको पढाइका लागि घर फर्किएकी थिइन्। भारतमै कमाएको पैसाले हालै उनले कृष्णपुरमा एक तले पक्की घर बनाएकी थिइन्।

शुक्रबार साँझ उनलाई महिनावारी भयो। ‘देवता रिसाउँछन्’ भन्ने अन्धविश्वासले उनी घरभन्दा करिब ३० मिटर टाढा रहेको छाउगोठमा सुत्न गइन्। त्यो पनि आफ्नै घरको होईन, छिमेकी तथा नातामा जेठाजु पर्ने सुके आउजीको घरको छाउगोठमा। उनका सासू-ससुरा पनि हालै रोपाइँ सकेर भारत गएका थिए।

छाउगोठमै सुतेकी बेला करेत सर्पले बाँया गालामा डसेको थियो। उनी बोल्न सक्ने अवस्थामा नै थिइन्। छिमेकीलाई खबर गरिन्, सर्प अझै ओछ्यान वरिपरि हिँडिरहेको दृश्य स्थानीयले भिडियोमा खिचेका छन्।

तत्कालै अटो खोजेर उनलाई सेती प्रादेशिक अस्पताल लगियो। तर अस्पतालमा भीडका कारण डेढ घण्टासम्म आईसीयू र भेन्टिलेटर खाली भएन। आईसीयू पर्खंदा–पर्खंदै उनले मृत्युवरण गरिन्। शनिबार साँझ ८ बजे उनको मृत्यु भयो।

कमलाको मृत्युपछि उनका तीन छोराहरू टुहुरा भएका छन्। श्रीमान अन्तिम संस्कारका लागि भारतबाट फर्किंदै छन्। शव अहिले पनि सेती अस्पतालको शवगृहमा राखिएको छ।

कमलाको पुर्ख्यौली घर अछामको मेल्लेख गाउँपालिका–८ हो। उनी महिनावारी भएबापत घरमा सुत्न नपाइने अन्धविश्वासकै कारण छाउगोठमा बसेकी थिइन्।

छाउपडी प्रथालाई रोक्न सरकारले कानुनी व्यवस्था गरिसकेको छ। मुलुकी अपराध संहिता २०७४ को दफा १६८ अनुसार छाउपडीमा राख्नेलाई ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। सार्वजनिक ओहदामा बसेकाले यस्तो गरे दोब्बर सजाय हुने व्यवस्था छ।

‘भत्काउँदा पनि बनाइहाल्छन्’
कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाका अनुसार स्थानीय तहले विगतदेखि नै छाउपडी अन्त्यका लागि अभियान सञ्चालन गरिरहेको छ।

‘बालमैत्री वडा घोषणा गर्ने क्रममा छाउगोठ समस्या देखियो,’ मेयर ओझाले भने, ‘कुमगडामा केही छाउगोठ भत्काएका थियौं तर अझै प्रथा कायमै हुँदा दुःखद घटना भयो।’

नगरपालिकाले असार २९ गते सार्वजनिक सूचना जारी गर्दै सबै वडालाई छाउगोठ भत्काउन १५ दिनको अल्टिमेटम दिएको छ। कार्यान्वयन नगरे हरेक छाउगोठ धनीलाई १० हजार जरिवाना र कानुनी कारबाही हुने चेतावनी दिइएको छ।

वडा नम्बर १ का वडाध्यक्ष मोहन बस्नेत भन्छन्, “गत वर्ष ६० वटा गोठ भत्कायौं, तर बुझाउँदा पनि बनाइहाल्छन्।”

प्रतिक्रिया