
भगवान् शिव चाम्लिङ हुन सक्छन् : प्रधानमन्त्री ओली
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् शिव चाम्लिङ हुन सक्ने अनुमान व्यक्त गरेका छन्। नेकपा (एमाले)को पर्यटन तथा नागरिक उड्डयन विभागले सोमबार (असार २३) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो भनाइ राखेका हुन्।
ओलीले हलेसीलाई शिवले तपस्या गरेको स्थलका रूपमा उल्लेख गर्दै उक्त क्षेत्र चाम्लिङहरूको थलो भएको बताए। त्यसैले भगवान् शिव चाम्लिङ हुनसक्ने अनुमान व्यक्त गर्दै भने, “म दाबी गर्दिनँ, तर कहिलेकाहीँ यस्तो लाग्छ।” उनले हलेसी क्षेत्रमा भएका गुफाहरूलाई शिवले खेल्ने ओडारका रूपमा समेत उल्लेख गरे।
कार्यक्रममा उनले वेदव्यास, कपिलमुनी र गौतम बुद्ध नेपालमै जन्मिएको पुनः स्मरण गराउँदै भने, “वेदव्यास तनहुँका थिए, कपिलमुनी कपिलवस्तुका, र सिद्धार्थ गौतम लुम्बिनीका। यी सबै नेपालकै गहना हुन्।”
शिव चाम्लिङ हुन सक्ने भनाइलाई उनले व्यक्तिगत अनुमान मात्र भएको स्पष्ट पार्दै यो विषयमा कुनै ठोस दाबी नगरेको उल्लेख गरे। साथै, समयक्रममा विभिन्न जातीय र सांस्कृतिक मिश्रणका कारण विभिन्न कथा र विश्वासहरू मिक्सअप भएको सम्भावनासमेत उनले औंल्याए।



कागजपत्र |
