सरकारी कर्मचारीहरू समर्पित भएर काम गर्दैनन् : पर्यटनमन्त्री


काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा कामप्रति समर्पणको भावना कमजोर भएको टिप्पणी गरेका छन्।

शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारी र निजी क्षेत्रको काम गर्ने शैलीमा ठूलो भिन्नता रहेको बताए।

“सरकारी काममा मान्छेहरू त्यसरी समर्पित भएर काम गर्दैनन्,” मन्त्री पाण्डेले भने, “निजी क्षेत्रले कम जनशक्तिको सदुपयोग गर्छ, जुन सुशासनकै एक भाग हो। त्यसमा सुधार गर्नुपर्छ।”

सांसदहरूले निजी एयरलाइन्सले थोरै जनशक्तिमा नाफा कमाइरहेको तर नेपाल एयरलाइन्समा धेरै कर्मचारी हुँदाहुँदै पनि सुधार नआएको भन्दै प्रश्न उठाएका थिए।

जवाफमा मन्त्री पाण्डेले नेपाल एयरलाइन्सले ग्राउण्ड ह्याण्डलिङको काम एकल रुपमा गर्नुपर्ने भएकाले धेरै जनशक्ति आवश्यक पर्ने स्पष्ट पारे।

“त्रिभुवन विमानस्थलबाट वार्षिक झण्डै ९५ लाख यात्रु आउजाउ गर्छन्,” उनले भने, “नेपाल एयरलाइन्सले हिमालयन लगायतका धेरै एयरलाइन्सका लागि ग्राउण्ड ह्याण्डलिङको जिम्मा लिएको छ, त्यसैले धेरै जनशक्ति खटिनुपर्छ।”

उनले नेपाल एयरलाइन्सको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली निर्माण भइरहेकाले अब आवश्यक भन्दा बढी जनशक्ति नराख्ने गरी गृहकार्य भइरहेको पनि जानकारी दिए।

प्रतिक्रिया