
इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाउने
काठमाडौं- भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा श्रम गर्दै अध्ययन गर्दै आएकी गोमा श्रेष्ठले यस वर्षको एसईई परीक्षामा उल्लेखनीय सफलता हात पार्दै ४ जीपीए प्राप्त गरेकी छन्।
गोमाको संघर्षमय जीवन र असाधारण नतिजा सार्वजनिक भएपछि भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले उनको सम्पूर्ण शैक्षिक यात्राको जिम्मा लिने घोषणा गरेका छन्।
गुरुङ दम्पतीले बिहीबार गोमालाई भाटभटेनी कार्यालयमा सम्मान गर्दै एक लाख रुपैयाँ नगद, ल्यापटप र सम्मानपत्र प्रदान गरे। सो अवसरमा अध्यक्ष गुरुङले गोमालाई कक्षा ११ र १२ अध्ययनका लागि माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा भर्ना गराइ सम्पूर्ण खर्च बेहोर्ने बताएका छन्। साथै उनले भविष्यमा एमबीबीएस तहसम्मको शिक्षाको सम्पूर्ण खर्च आफैं व्यहोर्ने प्रतिबद्धता जनाए।
इँटा सुकाउने काममा आमाबुबालाई सघाउँदै पढाइ अगाडि बढाएकी गोमाले धान रोपाइँ सकेर मेलाबाट फर्किएपछि मात्र आफ्नो नतिजा थाहा पाएकी थिइन्।



कागजपत्र |
