


हर्क साम्पाङको ‘श्रमदान’मा डोर हाजिरीको बील ! उपमेयरले उठाए प्रश्न

काठमाडाैं- धरान उपमहानगरपालिकामा ‘श्रमदान’का नाममा भएका गतिविधि र त्यसपछि प्रस्तुत गरिएको भुक्तानी मागलाई लिएर मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर आइन्द्रविक्रम बेघाबीचको विवाद राजनीतिक र प्रशासनिक तहमा चर्किंदै गएको छ।
साम्पाङले धरान–१६ को सर्दु खोला नियन्त्रणदेखि साबुन फ्याक्ट्री र बेसार उद्योगसम्मका कामहरू श्रमदानमार्फत सम्पन्न भएको दाबी गर्दै आएका छन्। तर ती कामका लागि उपभोक्ता समिति गठन गरी डोर हाजिरी फाराम सहित भुक्तानी माग गरिएको कागजातहरू सार्वजनिक भएपछि श्रमदानको नारा विवादमा तानिएको हो।
सोमबार बजेट सीमा निर्धारण समितिको बैठककै दिन उपमेयरलाई मेयरको कार्यकक्षमा बोलाई समर्थकमार्फत हुलहुज्जत गरिएको आरोपले अवस्था थप पेचिलो बनाएको छ। बेघा भन्छन्, “भुक्तानीका लागि अनुगमन गर्न दबाब दिइयो, तर प्रक्रिया नपुगेको काममा हस्ताक्षर गर्न सकिन्न।”
यता, साम्पाङले भने विपद्को समयमा तत्काल काम गर्नुपर्थ्यो भन्दै श्रमदानमार्फत गरिएको काममा मूल्यांकनका आधारमा भुक्तानी गर्नुपर्ने बताएका छन्। तर कार्यपालिका भित्रैबाट ‘श्रमदानको नाममा कर्मचारीलाई डर देखाएर भुक्तानी गराउने प्रवृत्ति’ को आरोप लाग्न थालेपछि यो विवाद केवल व्यक्तिगत होइन, संस्थागत पारदर्शिता को विषयमा रूपान्तरण हुन थालेको छ।
कार्यालय स्रोतका अनुसार श्रमदान रकम मूल्यांकनको स्पष्ट मापदण्ड नभएको र प्रक्रिया नै उल्लंघन गरेर समितिहरू गठन गरिएको देखिन्छ। यतिमात्र होइन, विभिन्न श्रमदान आयोजनामा मेयरका समर्थकहरूलाई प्राथमिकतामा राखेर भुक्तानी मागिएको भन्दै उपमहानगरका अन्य प्रतिनिधिहरू पनि असन्तुष्ट देखिन्छन्।

