


अफताब आलमलाई सफाइ दिने न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशविरुद्ध न्याय परिषद्मा उजुरी परेको छ।
बम काण्डमा ज्यान गुमाएका त्रिलोकप्रताप सिंह उर्फ पिन्टुका बुवा श्रीनारायण सिंह राजपुतले न्यायाधीश खुशीप्रसाद थारु र अर्जुन महर्जनले बदनियतपूर्वक आलमलाई सफाइ दिएको आरोप लगाउँदै कारबाहीको माग गरेका हुन्।
रौतहट जिल्ला अदालतले दोषी ठहर गर्दै आलमलाई कारावास सजाय सुनाएको थियो। तर, गत जेठ १४ गते उच्च अदालत वीरगञ्जले आलमलाई दोषमुक्त गरिदिएको थियो।
राजपुतले दिएको उजुरीमा करिब १२०० पृष्ठको मुद्दा मिसिल छिटोछरितो रूपमा अध्ययन नगरी चार घण्टाभित्रै सुनुवाइ टुंग्याएर सफाइ दिइएको उल्लेख छ।
सरकारी वकिल कार्यालयले ८२२ पृष्ठको प्रमाणसहित अभियोग दायर गरेको र अदालतमा तीन सय पृष्ठभन्दा बढी बयान तथा बकपत्र बुझाइएको उजुरीमा उल्लेख गरिएको छ।

