अहमदाबादमा दुर्घटना भएको विमानमा कुन-कुन देशका यात्रु थिए ?


काठमाडाैं- भारतकाे अहमदाबादमा बुधबार दिउँसो भएको भीषण विमान दुर्घटनामा विभिन्न देशका नागरिक सवार रहेको पुष्टि भएको छ। एयर इण्डियाको लन्डन ग्याटविकतर्फ उडेको फ्लाइट टेकअफ गरेको पाँच मिनेटमै मेघानीनगर क्षेत्रको रिहायशी क्षेत्रमा खस्दा ठूलो क्षति भएको छ।

बोइङ ७८७ ड्रीमलाइनर विमानमा कुल २४२ जना सवार थिए, जसमा २३० जना यात्रु र १२ जना क्रू सदस्य (२ पाइलट र १० केबिन क्रू) रहेका थिए।

एयर इण्डियाले सार्वजनिक गरेको विवरणअनुसार दुर्घटनाग्रस्त विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती (ब्रिटेन), ७ जना पुर्तगाली र १ जना क्यानाडाली नागरिक सवार थिए।

घटनास्थल नजिकैको डाक्टर होस्टल क्षेत्रमा विमान खस्दा आगलागी भएको थियो। र तत्कालै उद्धार कार्य सुरु गरिएको थियो। एनडीआरएफ, दमकल र स्थानीय प्रशासनको टोलीले उद्धार जारी राखेका छन्।

सरकारले देशभरका अस्पतालहरूमा आपतकालीन तयारीस्वरूप १२०० बेड आरक्षित राखेको जानकारी दिएको छ भने नागरिक उड्डयन मन्त्रालयले दुर्घटनाको कारण पत्ता लगाउन छानबिन सुरु गरेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र नागरिक उड्डयन मन्त्री राम मोहन नायडूले घटनाबारे गम्भीर चासो व्यक्त गर्दै राहत र उद्धार कार्यमा कुनै कसर नछोड्न निर्देशन दिएका छन्।

प्रतिक्रिया