


पतञ्जली जग्गा भ्रष्टाचार प्रकरण : दुई पूर्वमन्त्रीविरुद्ध पनि मुद्दा दायर

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली आयुर्वेदसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा दुई पूर्वमन्त्रीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आइतबार विशेष अदालतमा तत्कालीन कानुन तथा न्यायमन्त्री प्रेमबहादुर सिंह र पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरेको हो।
यस प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको नाम पनि संलग्न भएको अख्तियारले जनाएको छ।
मुद्दामा स्व. डम्बर श्रेष्ठका छोरा सन्तोष श्रेष्ठ, पूर्वमुख्यसचिव स्व. माधव प्रसाद घिमिरे र उनकी श्रीमती कमला घिमिरे, भूमिसुधार मन्त्रालयका पूर्वसचिव छविराज पन्त, सहसचिवहरू जीतबहादुर थापा र लिलामणि जोशी, तथा कलानिधि पौडेललगायत अन्य अधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ।
अख्तियारले उनीहरूलाई सरकारी सम्पत्ति हिनामिना र पदको दुरुपयोग गरी पतञ्जलीसँग मिलेमतोमा अनियमितता गरेको आरोप लगाएको छ।

