हेनरिक क्लासेनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास


काठमाडाैं- दक्षिण अफ्रिकाका विकेटकीपर ब्याटर हेनरिक क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । टी–२० लिगमा प्राथमिकता दिने उद्देश्यले क्लासेनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् ।

गएको अप्रिलमा क्रिकेट साउथ अफ्रिका (सीएसए) को केन्द्रीय सम्झौतामा नपरेपछि नै उनले सन्न्यासबारे योजना बनाइरहेका क्रिकेटसम्बन्धी जानकारी दिने वेबसाइट क्रिकइन्फोले लेखेको छ । सन् २०२४ को जनवरीमा टेस्ट क्रिकेटबाट सन्न्यास लिएका ३३ वर्षीय विकेटकीपर ब्याटरले सीमित ओभरको क्रिकेटबाट पनि विश्राम लिने निर्णय गरेका हुन् ।

क्लासेनले ४ टेस्टमा १०४ रन बनाएका छन् । यस्तै उनले ६० एकदिवसीयमा ४३ दशमलव ६९ को औसतमा ११७ दशमलव ०५ को स्ट्राइक रेटमा ४ शतक र ११ अर्धशतकसहित २ हजार १ सय ४१ रन बनाएका छन् । ५८ टी–२० मा क्लासेनले २३ दशमलव २५ को औसतमा १४१ दशमलव ८४ को स्ट्राइक रेटमा ५ अर्धशतकसहित १ हजार रन बनाएका छन् । क्लासेन टी–२० फ्रेन्चाइजी लिगमा सबैभन्दा लोकप्रिय खेलाडीमध्ये एक हुन् ।

यसअघि आजै अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए ।

प्रतिक्रिया