
चार बालिका चार दिनदेखि बेपत्ता, खोजीमा जुट्यो प्रहरी
मोरङ — साथी भेट्न भन्दै घरबाट निस्किएका चार बालिका चार दिनदेखि बेपत्ता छन्। मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका ती बालिका जेठ १५ गते (गणतन्त्र दिवसका दिन) घरबाट निस्किएपछि अहिलेसम्म सम्पर्कविहीन छन्।
बेपत्ता हुनेमा सुन्दरहरैचा नगरपालिका–११, शुक्रबारेस्थित महेन्द्र माविकी १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, तथा बेलबारी–२ स्थित कविर माविकी १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार बालिकाहरूको खोजी तीव्र पारिएको छ। विभिन्न सम्भावित स्थानमा खोजी कार्य जारी छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
बेपत्ता बालिकाका परिवारजन चिन्तित छन् र छोरीहरूको सकुशल फिर्तीको अपिल गर्दै आएका छन्।



कागजपत्र |
