

देशभर थपिए १६२ जना कोरोना संक्रमित, काठमाडौंमा मात्र ५०

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ सय ६२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा १ सय ६२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए।
२४ घण्टामा देशभर रहेका विभिन्न ल्याबहरूमा ३ हजार ९ सय १९ जनाको पिसिआर परीक्षण गरिएको थियो। काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाहरूमा ६७ जनामा कोभिड पोजेटिभ देखिएको हो। भक्तपुरमा ४ जना, ललितपुरमा १३ जना र काठमाडौंमा ५० जनामा कोभिड १९ पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिए।
गएको सोमबारदेखि आजसम्म १० हजार १ सय ८१ जनाले पिसिआर परीक्षण गरेका छन्। जसमा ४ सय ७० जनामा पोजेटिभ देखिएको थियो। मन्त्रालयले पछिल्लो समय कोभिड संक्रमितको सङ्ख्या बढेकाले सबैले मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ।

