आज नयाँ बजेट


काठमाडौं — आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट बिहीबार सार्वजनिक हुँदै छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

नेपालको संविधान, २०७२ को धारा ११९ को उपधारा (३) मा उल्लिखित अर्थमन्त्रीले प्रत्येक वर्ष जेठ १५ गते सङ्घीय संसद्मा राजस्व र व्ययको अनुमान पेस गर्नुपर्ने व्यवस्था अनुरूप बिहीबार बजेट सार्वजनिक हुन लागेको हो । बढ्दो दायित्व र खुम्चँदो राजस्वको दबाबबिच अर्थमन्त्रीले १९ खर्ब रुपियाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् । त्यसो त राष्ट्रिय स्रोत अनुमान समितिले आगामी आवका लागि १९ खर्ब ६५ करोड रुपियाँको बजेट सीमा निर्धारण गरेको छ ।

आगामी बजेट अर्थतन्त्रको वृद्धिदरलाई उच्च महत्वमा राखेर ल्याइने अर्थमन्त्री पौडेलले यसअघि नै सार्वजनिक रूपमा प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै बजेटमा नयाँ आयोजना थप्नेभन्दा पनि पुराना आयोजना सम्पन्न गर्ने गरी विनियोजन हुने पनि उनले बताएका थिए । अर्थ मन्त्रालयका अनुसार सङ्घीय बजेटमा आयोजना बैङ्कमा नपरेका र तीन करोड रुपियाँभन्दा कमका आयोजना पर्ने छैनन् ।

बजेट सार्वजनिक हुनुपूर्व वृद्धभत्ता प्राप्त गर्ने उमेर बढाइने, आयकरको स्ल्याब बढाइने र कर्मचारीको तलब बढाइने जस्ता विषयले चर्चा पाएका छन् । सामाजिक सुरक्षामा बढ्दो दायित्वका कारण पनि सरकारले वृद्धभत्ताको उमेरमा हेरफेर गर्ने तयारी गरेको हो । त्यस्तै निजामती सेवा ऐन, २०४९ मा भएको व्यवस्था अनुसार प्रत्येक तीन वर्षमा राजस्व वृद्धिदर र महँगीको आधारमा तलबमा पुनरवलोकन गर्नुपर्ने व्यवस्थाका कारण तलब बढाउनुपर्ने कानुनी बाध्यता अर्थ मन्त्रालयलाई छ ।

स्रोत व्यवस्थापनका लागि विद्युतीय सेवा र विद्युतीय सवारीमा लाग्दै आएको करमा हेरफेर गर्ने तयारी गरिरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । नपुग स्रोत भने सरकारले बाह्य र आन्तरिक ऋणबाट पूर्ति गर्ने छ । आगामी आवका लागि सरकारले साढे छ खर्ब रुपियाँको घाटा बजेट ल्याउन सक्ने गरी सिलिङ समितिले तोकेको छ ।

अर्थमन्त्रीले बजेट वक्तव्य सार्वजनिक गर्नुपूर्व संसद्मा चालु आवको आर्थिक सर्वेक्षण पनि पेस गर्ने कार्यक्रम रहेको छ । बजेट वक्तव्यसँगै अर्थमन्त्रीले विनियोजन विधेयक, अर्थसम्बन्धी विधेयक, राष्ट्र ऋण उठाउने विधेयक पेस गर्नेछन् ।

प्रतिक्रिया