भारतमा फेरि बढ्न थाले कोरोना संक्रमित, सक्रिय केस एक हजार नाघ्यो


काठमाडौं – भारतमा कोभिड–१९ (कोरोना भाइरस) का केसहरू पुनः बढ्न थालेका छन्। पछिल्लो एक सातामा संक्रमण तीव्र गतिमा फैलिएको छ भने देशभर सक्रिय संक्रमितको संख्या १,००९ पुगेको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

दिल्लीमा मात्रै एक सातामा ९९ जना नयाँ संक्रमित भेटिएका छन्। हाल त्यहाँ १०४ जना सक्रिय संक्रमित छन् भने २४ जना निको भएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार केरला राज्यमा सबैभन्दा धेरै ४३० जना सक्रिय संक्रमित छन्। दोस्रोमा महाराष्ट्रमा २०९ केस छन् भने दिल्ली तेस्रो स्थानमा पुगेको छ।

अन्य प्रभावित राज्यहरूमा गुजरात (८३), तमिलनाडु (६९), कर्नाटक (४७), उत्तर प्रदेश (१५), राजस्थान (१३), पश्चिम बंगाल (१२), हरियाणा र पुडुचेरी (९–९), आन्ध्र प्रदेश (४), मध्य प्रदेश (२), तेलंगाना, गोवा, र छत्तीसगढमा एक–एक जना संक्रमित रहेका छन्।

 चिन्ता लिनुपर्ने अवस्था छैन : कर्नाटक स्वास्थ्यमन्त्री

कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले कोभिड–१९ को अवस्था हाल गम्भीर नरहेको बताएका छन्। समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै उनले दक्षिण पूर्वी एसियामा पनि संक्रमण हल्कै रहेको र भारतमा देखिएका केसहरू सामान्य प्रकृतिका भएको बताए।

“केही स्थानहरूमा मृत्युका घटना भएका छन् तर ती सिधै कोभिडका कारण नभई अन्य रोगसँग सम्बन्धित थिए,” उनले भने, “हाललाई ठूलो डर वा चिन्ताको अवस्था छैन, तर सतर्कता आवश्यक छ।”

सन् २०२० देखि सुरु भएको कोरोना महामारीले विश्वभर लाखौंको ज्यान लिइसकेको छ। पछिल्लो समयमा संक्रमणको लहर फेरि देखिए पनि मृत्युदर भने तुलनात्मक रूपमा न्यून रहेको देखिएको छ।

प्रतिक्रिया