

मानव तस्करीमा संलग्नताको आशंकामा अध्यागमनबाट तानिएका प्रमुख भट्टराई अख्तियारको नियन्त्रणमा

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भिजिट भिसाको सेटिङमार्फत अवैध रकम असुली र मानव तस्करीमा संलग्न गिरोहसँगको साँठगाँठ रहेको सूचनाका आधारमा आयोगले बुधबार विमानस्थल अध्यागमनमा छापा मारेको थियो।
अख्तियार स्रोतका अनुसार, भट्टराईले विदेशी जाने तयारीमा रहेका व्यक्तिहरूबाट गैरकानुनी रूपमा रकम असुली गर्दै तिनीहरूलाई सजिलै भिसा दिलाउने कार्यमा संलग्न रहेको पाइएको छ। यसैक्रममा उनीसँग सम्बन्धित कागजात र मोबाइल जफत गरिएको छ। “मोबाइलमा मानव तस्करीसँग जोडिएका महत्त्वपूर्ण विवरणहरू फेला परेको छ,” एक अनुसन्धान अधिकारीले बताए।
भट्टराईलाई भर्खरै मात्र गृह मन्त्रालय तानिएको भए पनि उनले कार्यभार नलिएसम्म विमानस्थलमा नै काम गरिरहेका थिए। उनका विरुद्ध यसअघि पनि स्थानीय विकास अधिकारी (एलडीओ) हुँदा भ्रष्टाचारको मुद्दा परेको थियो।
यतिबेला अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छानबिन जारी राखेको छ। अख्तियारले मानव तस्करीसँग सम्बन्धित गिरोहमा भट्टराईको संलग्नता पुष्टि गर्ने थप प्रमाणहरू जुटाउँदै अनुसन्धानलाई अगाडि बढाएको छ।

