विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा


काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ। टंगालस्थित आयोगको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले अध्यागमन कार्यालयमा छापा मारेर आवश्यक कागजात र कम्प्युटरसमेत जफत गरेको छ।

छापा मार्ने क्रममा अख्तियारले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईसहित ९ जना कर्मचारीलाई नियन्त्रणमा लिएको हो। भट्टराई हालैसम्म विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारीमा थिए।

अख्तियार स्रोतका अनुसार भट्टराईको कार्यकालमा भिजिट भिसामा विदेश जान चाहने व्यक्तिहरूबाट अवैध रूपमा करोडौं रुपैयाँ उठाइएको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको हो।

अख्तियारले मंगलबारदेखि नै अध्यागमनमा कार्यरत कर्मचारीहरूमाथि निगरानी राख्दै आएको थियो। अहिले पक्राउ परेका कर्मचारीहरूलाई प्रारम्भिक अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

प्रतिक्रिया