

कोरियामा मौसमी कामदार पठाउन निर्णय भएको छैन : श्रम मन्त्रालय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने सम्बन्धमा हालसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
मन्त्रालयले सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचना र नक्कली पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै औपचारिक स्पष्टीकरण सार्वजनिक गरेको हो।
सामाजिक सञ्जालमा “नेपाल र कोरिया सरकारबीच मौसमी कामदारसम्बन्धी समझदारी कायम भएको” भन्दै केही स्थानीय तहलाई मन्त्रालयमा सम्पर्क गर्न भनिएको पत्र सार्वजनिक भएको थियो। तर, मन्त्रालयले उक्त पत्र नक्कली भएको र त्यसमा मन्त्रालयको लेटरहेड र छाप दुरुपयोग गरिएको दाबी गरेको छ।
“मन्त्रालयबाट यस्तो कुनै निर्णय गरिएकाे छैन,” विज्ञप्तिमा भनिएको छ, “मौसमी कामदारसम्बन्धी कुनै सूचना जारी गरिएको छैन, र हाल सार्वजनिक भएका सामग्रीहरू पूर्ण रूपमा आधारहीन र तथ्यहीन छन्।”

