

संवैधानिक आयोगका पदाधिकारीविरुद्धको रिटमाथि आजदेखि पुनः सुनवाइ

काठमाडौं – असंवैधानिक तवरबाट नियुक्त गरिएको भनिएका संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्धको रिटमाथि सर्वोच्च अदालतमा आज (वैशाख २८)देखि पुनः सुनवाइ हुँदै छ ।
०७७ साल मंसिर ३० गते संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार)सम्बन्धी अध्यादेश जारी गरी संवैधानिक परिषद्ले संवैधानिक आयोगमा तीन पदाधिकारी सिफारिस गरेपछि पुस १ मा अधिवक्ता ओमप्रकाश अर्यालले रिट तयार गरेका थिए ।
संवैधानिक परिषद्मा निर्णय गर्नेमध्ये तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमल्सिना र तेस्रो व्यक्ति तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा थिए । सोही कारण रिटमाथिको सुनवाइ जबराले नै प्रभावित पार्दै आएका थिए ।
उनको कार्यकालपछि तीन प्रधानन्यायाधीश परिवर्तन हुँदा समेत उक्त रिटमाथि सुनुवाइ भएन । गएको माघदेखि भने संवैधानिक इजलासले ‘हेर्दाहेर्दै’मा राखेर सुनवाइ अघि बढाएको छ । यसअघि निरन्तर सुनुवाइ जारी रहेका बखत प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत बेलायत भ्रमणमा गएका कारण स्थगन गरिएको थियो । अब उक्त रिटमाथि पुनः सुनुवाइ हुन लागेको हो ।
ओली सरकारले ०७७ माघ २१ र ०७८ जेठमा नियुक्त गरेका ५२ पदाधिकारीविरुद्धको रिट जारी भए अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मानवअधिकार आयोगसहितमा संवैधानिक प्रक्रियाबाट नयाँ पदाधिकारी सिफारिसको बाटो खुल्नेछ ।

