

भारत–पाकिस्तान तनाव चुलिँदा भारतले भन्यो – पेट्रोलियम आपूर्ति पर्याप्त छ

काठमाडाैं- भारतको सबैभन्दा ठूलो तेल कम्पनी इन्डियन आयल कर्पोरेशन ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारतमा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासप्रशस्त मात्रामा उपलब्ध रहेको बताएको छ। कम्पनीले नागरिकहरूलाई डर र अफवाहबाट जोगिन अपिल गर्दै शान्त रहन आग्रह गरेको छ।
यो वक्तव्य त्यस्तो समयमा आएको हो, जब भारतमा सामाजिक सञ्जालमा पेट्रोल पम्पहरूमा लामो लाइन लागेको भिडियोहरू र तस्बिरहरू भाइरल भइरहेका छन्। विशेषगरी पाकिस्तानसँग सीमा जोडिएका राज्यहरूमा इन्धनका लागि हतार र आतङ्क देखिएको छ।
८–९ मे राति पाकिस्तानले भारतका विभिन्न शहरहरूमा ड्रोन र मिसाइल आक्रमणको असफल प्रयास गरेको थियो। भारतीय सेनाले ती हमलालाई नाकाम पार्दै जवाफी कारबाहीमा पाकिस्तानका केही शहरहरूमा रहेको राडार प्रणाली ध्वस्त पारेको बताइएको छ।
यस घटनापछि भारत–पाकिस्तान सीमावर्ती क्षेत्रहरू जस्तै जम्मु–कश्मीर र पञ्जाबका विभिन्न शहरहरूमा ब्ल्याकआउट (विद्युत् बन्द) गरिएको छ। पछिल्ला गतिविधिहरू हेर्दा भारत र पाकिस्तानबीच तनाव चुलिन सक्ने अनुमान गरिएको छ।
यसै सन्दर्भमा नेपालमा समेत इन्धन आपूर्तिमा असर पर्ने चिन्ता बढेको छ। भारत–पाकिस्तानबीच सम्भावित युद्धको अभ्यास भइरहेका बेला नेपालले आफ्नो इन्धन आपूर्तिको वैकल्पिक योजना बनाउनुपर्ने आवश्यकता देखिएको छ।

