


नेपाल सरकारले भारत–पाकिस्तानमा रहेका नागरिकको सुरक्षा सुनिश्चित गर्नुपर्छ: सभामुख घिमिरे

काठमाडौं- सभामुख देवराज घिमिरेले भारत र पाकिस्तानबीच बढ्दो तनावका सन्दर्भमा दुवै देशमा बसोबास गरिरहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारलाई आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत–पाकिस्तानबीचको द्वन्द्व र त्यसले नेपाली नागरिकमा पार्न सक्ने असरबारे चिन्ता व्यक्त गरेका थिए। सोही बैठकमा सभामुख घिमिरेले सम्बोधन गर्दै सरकारले तत्काल सुरक्षा, राहत र व्यवस्थापनसम्बन्धी योजना बनाउनुपर्नेमा जोड दिए।
सभामुखले भने, “भारत–पाकिस्तानमा सिर्जित अस्थिर अवस्थाको पृष्ठभूमिमा त्यहाँ रहेका नेपालीहरूको सुरक्षामा पर्न सक्ने सम्भावित असरलाई ध्यानमा राखी सरकारले आवश्यक व्यवस्थापन मिलाउन म सरकारको ध्यानाकर्षण गराउँछु।”
सभामुखको यो निर्देशनसँगै सरकारले त्यसतर्फ आवश्यक गृहकार्य सुरु गर्ने अपेक्षा गरिएको छ।

