

प्रचण्डजी उमेर सम्झिनुस् ढाड सड्किएलाः प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राजनीतिक रुपमा क्षमता र उमेर हेरेर अघि बढ्न व्यंग्यात्मक सुझाव दिएका छन्।
रिपोर्टस क्लवको २३ औं बार्षिकोत्सवलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने,‘अब तपाईसँग त्यस बेलाका सेना पनि छैनन्, हतियार पनि छैनन्। किन धेरै धाक धक्कु दिनुहुन्छ?’
उनले ढाड सड्किएको विषयलाई सन्दर्भ जोड्न आफ्ना एक जना हजुरबुवा पर्नेले छेलो खेल खेल्दा ढुंगा फ्याँकेको कथालाई जोडेका थिए।
प्रधानमन्त्री ओलीले अदालतले पार्टी एकता नगरीदिने बताउँदै एकता गर्ने भए आउनका लागि पनि अपिल गरे। तर डबलीमा दिएको वक्तव्यबाजी र तरिकाले एकता हुन नसक्ने टिप्पणी पनि गरे।
प्रचण्डले एमाले कब्जा गर्न खोजेको सांकेतिक अर्थ लगाउँदै उनले भने,‘प्रचण्डले सूर्य चिन्ह मेरो हो भनेर दाबी गरेको देख्दा पो अचम्मित भएँ। उदेक लाग्यो।’
भाषणका क्रममा उनले एमाले नेता माधवकुमार नेपालप्रति पनि कटाक्ष गरेका छन्। नेपाललाई पद चाहिने तर एकताका बेला तेस्रो अध्यक्ष बन्न प्रस्ताव गर्दा अस्वीकार गरेको बताएका प्रधानमन्त्री ओलीले प्रचण्डसँग दोस्रो अध्यक्ष बन्न सडकमा पुगेको भनी व्यंग्य गरे।
प्रधानमन्त्री ओलीले आगामी १ साउनमा बृद्धभत्ता बढाउने घोषणा गरेका छन्। उनले भने,‘खोई बृद्धभत्ता बढाएको भनेर रोइलो भयो, पहिलो बजेट भाषणमा नै। दोस्रोमा गरियो। अब साउनमा गरिन्छ, अनि रडाको हुने होला।’
आफ्नो सरकारले रेल, सडकदेखि अनेक विकास निर्माणका काममा सक्रियताका साथ सफलता पाएको दाबी गरेका उनले केही समयमा पूर्वपश्चिम रेलको झापादेखि शिल्यान्यास गर्ने घोषणा गरे।

