

बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना

काठमाडौँ – पछिल्लो एक वर्षमा प्रेस स्वतन्त्रता हननसम्बन्धी ७३ वटा घटना भएका छन् । नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन इकाइका अनुसार सन् २०२४ मे ४ देखि २०२५ अप्रिल ३० सम्ममा भएका ७३ वटा घटनामा १५१ पत्रकार र पाँच वटा सञ्चार संस्था आक्रमणमा परेका छन् ।
महासङ्घका अनुसार उक्त अवधिमा दुई जना पत्रकारको हत्या भएको महासचिव रामप्रसाद दाहालले जानकारी दिए । यस्तै, पेशागत असुरक्षाका १६ वटा घटना अभिलेख भएका छन् । पत्रकारमाथि धम्की, धरपकड तथा दुव्र्यवहारका अत्यन्त निन्दनीय घटना यस अवधिमा भएका छन् जसलाई लोकतन्त्र माथिकै प्रहार भएको महासङ्घको ठहर छ ।
आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासङ्घले उक्त तथ्य सार्वजनिक गरेको हो । सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो । योसँगै युनेस्कोले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु भएको हो ।

