५ वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, करोडौं जरिवाना र चेतावनी


काठमाडौं- नेपाल राष्ट्र बैंकले निर्देशन उल्लंघन गरेको आरोपमा पाँच वाणिज्य बैंकमाथि कारबाही गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नियामकीय व्यवस्था र निर्देशनको अवज्ञा गरेपछि केन्द्रीय बैंकले सम्बन्धित बैंकहरूलाई जरिवाना तथा चेतावनी दिएको हो ।

कारबाहीमा परेका बैंकहरूमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंक छन् ।

सबैभन्दा ठूलो जरिवाना स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई गरिएको छ । बैंकले कृषि, ऊर्जा तथा लघु, साना र मझौला व्यवसायमा तोकिएको अनुपातमा कर्जा नलगाएको भन्दै नेपाल राष्ट्र बैंकले १४ करोड ८५ लाख २५ हजार ५६७ रुपैयाँ नगद जरिवाना तिराएको हो ।

नेपाल बैंक लिमिटेडलाई भने कर्जा स्वीकृति तथा नविकरणमा ढिलाइ, रणनीतिक योजना र बजेट कार्यान्वयनमा कमजोरी, र उच्च व्यवस्थापनमा समन्वय अभाव देखिएकाले पाँच लाख रुपैयाँ जरिवाना गरिएको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम सचेत गराइएको छ ।

लक्ष्मी सनराइज बैंकका सन्दर्भमा संस्थापक सेयरधनीले बैंकमा कल तथा चालु खाता सञ्चालन गर्दै आएको र चालु खातामा ऋणात्मक मौज्दात देखिनुले अप्रत्यक्ष कर्जा सुविधा प्रदान गरेको ठहर गर्दै सीईओलाई नसीहत दिइएको छ ।

कुमारी बैंकले सूक्ष्म निगरानी तथा निष्क्रिय कर्जालाई नियमानुसार वर्गीकरण नगरेको, कर्जा नोक्सानी व्यवस्थापन नठीक बनाएको र जोखिम भार गणनामा त्रुटि गरेको पाइएपछि प्रमुख कार्यकारीलाई सचेत गराइएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले कर्जाको अवधि नाघेको आधारमा कर्जा वर्गीकरण नगरेको, नोक्सानी व्यवस्था र जोखिम भार गणनामा लापरबाही देखिएकाले बैंकका सीईओलाई चेतावनी दिइएको छ ।

राष्ट्र बैंकले नियम पालना नगर्ने बैंक तथा प्रमुख कार्यकारीहरूलाई अनुगमनको दायरामा ल्याएर समयमै सचेत गराउने उद्देश्यले यस्ता कदम चालेको जनाएको छ ।

प्रतिक्रिया