

मन्त्री आलेद्वारा गाउपालिका अध्यक्ष रावलको निधनप्रति दुःख व्यक्त

काठमाडौँ – वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । ७७ वर्षको उमेरमा अध्यक्ष रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा आज बिहान निधन भएको हो ।
मन्त्री आलेले आजै उक्त अस्पतालमा पुगी मृतक अध्यक्ष रावलका आफन्तसँग भेट समेत गर्नुका साथै उहाँको शव कैलाली लैजानका लागि रु ५० हजार आर्थिक सहयोगसमेत थियो । लामो समयदेखि उच्च रक्तचापले ग्रसित रावललाई चार दिनअघि मात्रै ‘ब्रेन हेमब्रेज’ भएको थियो ।
उनलाई कोहलपुर मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि काठमाडौँ ल्याएको उनका घरपरिवारले जनाएको छ । रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए । नेकपा एमालेको कैलाली जिल्लामा संस्थापक नेतामध्ये रावल एक थिए । उनको शव अहिले कैलाली लैजाने तयारी भइरहेको छ ।

