

शिक्षक आन्दोलनको रिपोर्टिङ गर्ने क्रममा पत्रकार कार्की घाइते, आँखामा गम्भीर चोट

काठमाडाैं- शिक्षक आन्दोलनको समाचार संकलनमा खटिएकी प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की घाइते भएकी छिन्। उनी आइतबार नयाँ बानेश्वरमा शिक्षक र प्रहरीबीच भएको झडपको घटनामा फिल्डमा उपस्थित थिइन्।
प्रहरीले हानेको पानीको फोहोराले कार्कीको आँखामा गम्भीर चोट लागेको प्राइम टेलिभिजनका सम्पादक मुकुन्द दाहालले जानकारी दिएका छन्। घाइते कार्कीको अहिले तिलगंगामा उपचार भइरहेको छ।
पानीको फोहोराबाट घाइते भएपछि उनलाई सुरूमा प्रहरीले बोकेर सिभिल अस्पताल ल्याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई तिलगंगा अस्पतालमा भर्ना गरिएको छ।

