१० हजारमा शूटर हायर गरेर श्रीमानको हत्या


नालन्दा, बिहार —  पारिवारिक कलह र सम्पत्ति विवादका कारण भारतस्थित नालन्दा जिल्लाको चण्डी थाना क्षेत्रमा एक जना युवकको निर्मम हत्या गरिएको खुलासा भएको छ । प्रहरीले अनुसन्धानपछि पत्ता लगाएको छ कि मृतक धर्मवीर यादवका श्रीमती र छोराले मिलेर १० हजार भारुमा सुपारी किलर (शूटर) हायर गरेर हत्या गराएका हुन् ।

घटना २०७९ चैत १४ गते (२०२५ मार्च २७) को हो । चण्डी नगरपालिका अन्तर्गत गोपी विगहा निवासी ४० वर्षीय टेम्पो चालक धर्मवीर यादवको हत्या सैदवरही गाउँ नजिकै गरिएकाे थियाे । अपराधीहरूले उनको टाउको, काँध, पेट र कमरमा चार राउण्ड गोली हानेका थिए, जसले गर्दा घटनास्थलमै उनको ज्यान गएको थियो ।

अनुसन्धानबाट धर्मवीर यादवकी पत्नी मनीता देवी विगत १६ वर्षदेखि माइती घरमै छोराछोरीसहित बस्दै आएकी खुलेको छ । उनीहरूमध्ये लामो समयदेखि सम्पत्ति विवाद चलिरहेको थियो र त्यससम्बन्धी मुद्दा हिलसा अदालतमा विचाराधीन अवस्थामा थियो ।

स्राेतका अनुसार, मनीता देवीमाथि चरित्रहीनताको आरोप लागेपछि उनी माइतीमै बस्न थालेकी थिइन् । छोरा पनि आमासँगै बस्ने गर्थे र बुबाको मृत्यु भए सम्पत्ति आफ्नो हुने लालचमा थिए । मृतक धर्मवीरले छोरालाई आफूसँग बस्न पटकपटक आग्रह गरे पनि छोरा सधैँ आमाकै पक्षमा उभिन्थे ।

प्रहरीका अनुसार, शूटर धीरज कुमार मृतक धर्मवीरको ज्वाइँको भाइ हुन्, जसले नै गोली हानेर हत्या गरेका थिए । यस घटनामा मसौढीका विवेक कुमार र सत्य प्रकाश भारती पनि संलग्न थिए । प्रहरीले धीरज कुमारसहित तीन जना आरोपीलाई पक्राउ गरी उनीहरूको साथबाट एक थान बुलेट मोटरसाइकल र तीन थान मोबाइल फोन बरामद गरेको छ ।

२७ मार्चको दिन जब धर्मवीर अदालतबाट फर्किँदै थिए, त्यही बेलामा मनीता देवी र उनका छोराले शूटरलाई संकेत  गरेर धर्मवीरको हत्या गराएका थिए । हाल मनीता देवी र उनका छोरा फरार छन् र प्रहरी उनीहरूको खोजीमा जुटिरहेको छ ।

 

प्रतिक्रिया