

बिहेको ४ दिनमै मारिए लेफ्टिनेन्ट विनय, हनीमून मनाउन गएका थिए कश्मीर

काठमाडौं- जम्मु–कश्मीरको रमणीय पहलगाम घुम्न गएका नवविवाहित दम्पतीका लागि सपनाहरू सँगाल्ने समय हुनुपर्ने थियो । तर, त्यो समय बन्यो एउटा दुखान्त घटनाको साक्षी । भारतीय नौसेनाका २६ वर्षीय लेफ्टिनेन्ट विनय नरवाल आतङ्कवादी आक्रमणमा ज्यान गुमाउने २८ जना मध्ये एक बने । उनी आफ्नी श्रीमतीसँग हनिमूनमा थिए ।
विनयको भर्खरै मात्र अप्रिल १६ मा विवाह भएको थियो । रिसेप्शन अप्रिल १९ मा सम्पन्न भयो । त्यसको दुई दिनपछि उनी श्रीमती हिमांशीसँग हनीमून मनाउन कश्मीर प्रस्थान गरे । तर, उनका जीवनका रमाइला पलहरू एक नसोचिएको दुर्घटनामा बदलिए ।
उनका हजुरबुबा हवा सिंह नरवालका अनुसार विनय स्विट्जरल्याण्ड जान चाहन्थे तर भिसा नपाएकाले कश्मीरको ‘मिनी स्विट्जरल्याण्ड’ भनिने बैसरन उपत्यका रोजे । उनले मिडियासँग भने, “उनी स्वप्निल जीवन सुरु गर्न गएका थिए, तर उनको सपनै चकनाचुर भयो ।”
हरियाणाको कर्नाल जिल्लाका विनयले बी.टेक गरेपछि दुई वर्षअघि नौसेनामा प्रवेश गरेका थिए । हाल उनी कोच्चिमा पोस्टेड थिए। उनी परिवारका एक्लो छोरा थिए र उनकी कान्छी बहिनी युपीएससीको तयारी गरिरहेकी छन् ।
विनयको निधनले नौसेना समुदायमा शोकको लहर फैलिएको छ । नौसेना प्रमुख एडमिरल दिनेश त्रिपाठीसहित सम्पूर्ण नौसेनाले शोक प्रकट गर्दै यो “कायरतापूर्ण आक्रमण” को निन्दा गरेका छन् ।
घटनापछि सामाजिक सञ्जालमा भाइरल भएको एउटा तस्बिरले सबैलाई भावुक बनाएको छ ।भुइँमा लडिरहेको शव छेउमा चुपचाप बसेकी एक महिला, जो उनकी श्रीमती हिमांशी हुन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो साउदी अरेबिया भ्रमण बीचमै छोडेर भारत फर्किएर घटनाको कडा निन्दा गरेका छन् । उनले भनेका छन्, “आक्रमणका लागि जिम्मेवार एक पनि अपराधी उम्किने छैन ।”
जम्मु–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले यसलाई पछिल्ला वर्षहरूमा सर्वसाधारणलाई लक्षित गरिएको सबैभन्दा क्रूर आक्रमण भनेका छन् । बैसरन उपत्यकामा भएको यो आक्रमणमा दुई विदेशीसहित कम्तिमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा एक नेपाली नागरिक सुदीप न्यौपाने पनि थिए ।

