‘राजनीतिमा नलाग्नु, यो बाटो ठीक छैन’ भन्ने नोट छाड्दै पूर्ववडाध्यक्षले त्यागे संसार


कैलाली- कैलालीको घोडाघोडी नगरपालिका–९ का पूर्व वडाध्यक्ष कृष्णबहादुर शाह मृत अवस्थामा फेला परेका छन् ।

बिहीबार दिउँसो करिब १ बजे सिमली खोलानजिक गम्भीर अवस्थामा फेला परेका शाहको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

प्रहरीका अनुसार शाहसँगै सल्फास विषादीको खाली डब्बा र एउटा डायरी फेला परेको थियो । बिहान करिब ९:३० बजे घरबाट निस्किएका उनले केही व्यक्तिहरूलाई “अब यो संसारमा म रहन्न” भनेका थिए  ती व्यक्तिले प्रहरीलाई जानकारी गराएपछि खोजी कार्य सुरु गरिएको थियो ।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले, “सूचना पाउनेबित्तिकै हाम्रो टोली घटनास्थलमा पुगेको थियो । उहाँलाई गम्भीर अवस्थामा भेट्यौं र तत्काल उद्धार गरी अस्पताल ल्यायौं,” भने। तर, घोडाघोडी अस्पतालमा पुर्‍याइँदा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल लगिएको छ ।

प्रहरीले शाहको साथमा भेटिएको सुसाइड नोटमा उल्लेख गरिएका विषयहरूमाथि अनुसन्धान अघि बढाएको छ। उक्त नोटमा उनले परिवारका सदस्यहरूलाई सम्बोधन गर्दै आफ्ना भावनाहरू व्यक्त गरेका छन् । साथै, राजनीतिप्रति गहिरो निराशा व्यक्त गर्दै आफ्नो दाजुलाई राजनीतिमा नलाग्न आग्रह गरेका छन् ।

सुसाइड नोटमा लेखिएको छ, “म आजको मितिबाट यो संसारमा रहन्नँ । सबैको बोझ भएँ । यो बोझमा रहन चाहन्न। सत्य सत्य रामराम। सबै मिलेर बस्नु। झैझगडा नगर्नू।” साथै, दाजुलाई उद्देश गर्दै भनेका छन्, “दाइ, तपाईं राजनीतिमा नआउनु । यो लाइन ठीक छैन । आफ्नै व्यापार गरेर खानु ।”

प्रहरीका अनुसार उक्त नोटमा मिति र हस्ताक्षर पनि उल्लेख छन् । परिवारका सदस्यहरूले सुसाइड नोटप्रति केही प्रश्न उठाएपछि प्रहरीले त्यसलाई फरेन्सिक परीक्षणका लागि पठाउने तयारी गरेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार सल्फास सेवनकै कारण शाहको मृत्यु भएको देखिएको प्रहरीको भनाइ छ ।

शाह २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए । हाल उनी नेकपा एमाले घोडाघोडी नगर कमिटीका उपाध्यक्ष थिए ।

प्रतिक्रिया