वीरगञ्जमा १२ बजेसम्म कर्फ्यु, अझै थपिएला त ?


पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा शनिबार तनाव बढेसँगै जारी भएको ‘कर्फ्यू’ आदेश आइतबार दिउँसो १२ बजेसम्म जारी गरेको छ।

कर्फ्यूका बीचमा पनि प्रदर्शन नरोकिएपछि १२ बजेपछि पनि बढाउने सम्भावना बढ्दै गएको छ । कर्फ्यू आदेशपछि पनि प्रदर्शन नरोकिएपछि वीरगञ्जमा नेपाली सेना परिचालन गरिएको छ ।

वीरगञ्जको छपकैयाँमा हिन्दू र मुस्लिम समुदायबीच तनाव बढेपछि शनिबार साँझ साढे ६ बजेदेखि आइतबार बिहान १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि कर्फ्यू आदेश जारी गरिएको बताएका हुन्।

कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जिल्लाको वीरगञ्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरेको छ। जसअनुसार पूर्वः भेडियाही चौक—वीरगञ्ज महानगरपालिका—१५, पश्चिमः सिर्सिया पुल—वीरगञ्ज महानगरपालिका—२५ सम्म कर्फ्यू आदेश जारी गरिएको हो। यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगञ्ज महागरपालिका—१४ सम्म कर्फ्यू आदेश जारी गरेको छ।

यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट— वीरगञ्ज महानगरपालिका—१६ सम्म कर्फ्यू आदेश कायम रहने प्रशासनले जनाएको छ। यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबीच झडप भएको थियो।

झडपका क्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित २३ सुरक्षाकर्मी घाइते भएका छन् ।

 

प्रतिक्रिया