

फुपुकोमा बत्ति लिन गएकी अनुजा अब कहिल्यै नफर्किने गरि गइन्

तनहुँ — तनहुँमा चितुवाको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिका–२ कामी डाँडा बस्ने इसुब विकको ९ वर्षकी छोरी अनुजा विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।
शुक्रवार साँझ ६ः ३० बजे फुपू दिदी फूलमाया विकको घरमा बत्ती लिन गएको बेला चितुवाको आक्रमण परि मृत्यु भएको उनले बताए । अँध्यारो घरका लागि उज्यालो लिन गएकी अनुजा अब कहिल्यै नफर्किने गरि गएकी छिन् ।
प्रनाउ थापाका अनुसार बालिका घर नर्फिएपछि उनका काका देवल बिकले खोजतलास गर्ने क्रममा चितुवाको आक्रमणबाट मृत अवस्थामा फेला पारेका थिए । बाटो रगत लागेको चप्पल देखि खोजी गर्दै जाने क्रममा घरबाट एक हजार पाँच सय मिटर कटुस घारीमा उनको शव फेला परेको थियो ।
बस्तीमा पसेर मानिसलाई आक्रमण गरी मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित भएको र नरभक्षी चितुवालाई नियन्त्रण लिन पासो थाप्न र खोजी गर्न सुरक्षा निकाय र डिभिजन वन कार्यालय तनहुँलाई आग्रह गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
तनहुँमा अत्याधिक मात्रामा चितुवाको आक्रमण हुने गरेको छ ।

