बुद्ध एयरको उडान नं. बीएचए ९५४ !


काठमाडौं – शुक्रबार बिहान ११ः४८ बाट बुद्ध एयरको उडान नं. बीएचए ९५४, भद्रपुरबाट काठमाडौं उड्ने तयारीमा थियो ।

११ बजे उड्ने निर्धारित समय भए पनि निर्धारित समयमा विमान उडेन । विमानमा यात्रुहरु बसिसकेका थिए, सोही क्रममा पहेंलो क्याप, पहेंलै धर्के टिसर्ट र कालाे पाइन्ट लगाएका चिरपरिचित दुर्गा प्रसाईलाई झापा जिल्ला प्रहरी कार्यालयको गाडीबाट विमानस्थलसम्म ल्याइयो ।

प्रहरीले हतकडी लगाएर जिल्ला प्रहरी कार्यालय पुर्याइए पनि जहाजमा चढ्दा भने प्रसाईको हात हतकडीबिनै देखिएको थियो । ११ बजे उड्ने जहाज प्रसाईका साथै उनका अंगरक्षक दिपक खड्कालाई पनि लिएर ११ः४८ बजेमात्र काठमाडौंका लागि उडेको थियो ।

सामान्यतया ४५ मिनेटको उडान रहने भद्रपुर–काठमाडौंमा दुर्गा लिएर आएको जहाज सामान्य रुपमै ४६ मिनेटमा १२ः३४ मा काठमाडौं अवतरण भएको थियो ।

चैत १५ मा दुईजनाको ज्यान जाने गरि भएको प्रदर्शनपछि फरार रहेका प्रसाईलाई नेपाल प्रहरीले शुक्रबार बिहान भद्रपुरमा ‘भेटेको’ थियो । भारतमा बिहीबार नै पक्राउ परेको भनिएको समाचार आइरहे पनि प्रहरीले पक्राउ नपरेको जनाउँदै विज्ञप्ति नै जारी गरेको थियो ।

भारतको आसाम प्रहरीमा उपस्थित भएका दुर्गालाई भारतीय प्रहरीले नै नेपाल प्रहरीसमक्ष ल्याएरका बुझाएको जनाइए पनि त्यसको खण्डन नेपाल प्रहरीले गरेको छ । प्रहरीका प्रवक्ताद्वारा जारी विज्ञप्तिअनुसार प्रसाईलाई अंगरक्षक खड्कासहित शुक्रबार बिहान भद्रपुरबाट समातिएको थियो ।

प्रसाई १५ गते तीनकुने प्रदर्शनका क्रममा खटिएका प्रहरीहरुको ब्यारिगेट नै तोडेपछि फरार भएका थिए । प्रहरीले उनीविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी मुद्दा लगाउने तयारी गरिएको छ ।

अहिले काठमाडौं ल्याइपुर्याइएका प्रसाईलाई प्रहरीले म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरेको छ ।

प्रतिक्रिया